बोलीको हिसाब मागिनु पर्दछ


लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । राजनीति दलभित्र हुने निर्वाचन राज्य सत्ताका लागी हुने आम निर्वाचनले सहि मान्छे सहि स्थानका लागी निर्वाचित गर्ने गराउने मौकाका रुपमा हुन्छ । सहि मान्छे सहि स्थानको निर्वाचनका लागी प्रजातान्त्रिक व्यवस्थाले गरेको उत्तम व्यवस्थाका कारण प्रजातन्त्रको पक्षका रुपमा रहेको आवधिक निर्वाचन प्रणालीले लोकतन्त्रको सुन्दरता बढाएर अझ परिस्कृत व्यवस्था प्रणालीको सुधार गरेर प्रजातान्त्रिक समाजवाद र साम्यवाद सम्मको परिकल्पना गर्ने सिद्धान्तकारहरुका सिद्धान्त कागतका पानामा सिमित पार्ने प्रयास भईरहेका बेला आम मतदाताले सजग हुनुपर्ने बेला आएको छ । जवसम्म राजनीतिक दलहरु भित्र निष्पक्ष रुपमा नेतृत्व छनौटको वातावरण सिर्जना हुदैन तबसम्म प्रजातान्त्रिक व्यवस्था सुदृढ हुन सक्ने अवस्था छैन । राजनैतिक दलहरु भित्र नेतृत्व छनौटका लागी अस्वस्थ प्रतिस्पर्धा कायम छ । प्रजातान्त्रिक मूल्य मान्यता समाप्त पार्दै बाहुबलि, धनबलि, अथवा अन्य कुनै मापदण्डका आधारमा नेतृत्वका लागी भई रहेको प्रतिस्पर्धा अप्रजातान्त्रिक देखिएको छ । नगर जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनहरुमा प्रतिनिधि छनौट गर्दा पार्टी कार्यकर्ताले कार्यकर्ताको मूल्यांकनका आधारमा प्रतिनिधि छनौट गर्ने परम्परा हराउँदै गएको छ ।
सबै दलको अधिवेशनमा प्रतिनिधि छनौटमा अप्रजातान्त्रिक परिपाटीको विकास भएको छ । जसका कारण आम निर्वाचन प्रभावित भईरहेको छ । राजनीतिक दलहरु भित्रको अमर्यादित निर्वाचन प्रणालीका कारण आम निर्वाचन अमर्यादित भईरहेको छ ।
राजनैतिक दलहरु प्रजातन्त्रका मेरुदण्ड हुन । मेरुदण्ड कमजोर छ भने जसरी शरिर चल्न सक्दैन यसै अनुरुप प्रजातान्त्रिक मूल्य मान्यता कमजोर हुन्छन । अहिले प्रजातन्त्र स्थापना पछिका वर्षहरु आफ्नै लागी घातक बन्दै गईरहेको भए पनि राजनैतिक दलहरु सच्चिन सकिरहेका छैनन् । गुट उपगुट वडादेखि केन्द्रसम्म निर्माण गर्ने अनि पार्टी सत्ता कब्जा गरेर राज्य सत्ताको हिस्सेदारीका लागी सत्ता नै सिद्धान्त बनाउने खालका प्रबृत्तिहरु नेपाल र नेपालीका लागी घातक बन्दै गएका छन । यस्तो अवस्थामा आम मतदाता सचेत हुनुपर्ने आवश्यकता छ । आम मतदाताको सचेतना विना मुलुकमा स्थापित प्रजातन्त्र समाप्त हुने खतरा बढेको छ । मुलुकमा प्रतिगमनको खतरा बढ्दै गईरहेको छ ।
व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने आवाज प्रतिगमनको कित्ताबाट उठिरहेको छ । व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भनाई राख्न यसै प्रजातन्त्रले दिएको हो भन्ने बुझाई मतदाताले राख्न जरुरी छ । आम निर्वाचनका बेला राजनैतिक दलहरुले आफ्ना चुनावी घोषणापत्र अथवा प्रतिबद्धता पत्रहरुमा लिखित रुपमा जनतासँग गरेका बोलीको हिसाव मतदाताले माग्नुपर्ने हुन्छ । तर मतदाता त्यस्तो हिसाव माग्न सकिरहेका छैनन् । मतदानका बेला जातीयता, क्षेत्रीयता, नातावाद, कृपावाद, बाहुबली, धनवलीहरुको लहलहमै लाग्न थालेका कारण जे भन्दा जे गर्दा नि हुन्छ भन्ने गलत परम्पराहरु स्थापित भईरहेका छन । गलत परम्परा कायम गरेर सही बाटो पहिल्याउन सकिदैन । राजनैतिक दलसम्बद्ध नेता कार्यकर्ता र आम निर्वाचनमा दलका तर्फबाट उम्मेदवार बनाइएका व्यक्तिको मूल्यांकन आम मतदाताबाट हुुनु जरुरी छ । जसका लागी आम मतदाताद्धारा नेताहरुको बोलीको हिसाव मागिनु जरुरी छ । आम निर्वाचनका बेला १० वर्षमा मुलुकको विकास गरेर विकसित मुलुकका रुपमा स्थापित
गरेर देखाउँछु भन्ने राजनैतिक नेतृत्वसँग प्रजातन्त्र पुर्नस्थापनाका कति वर्ष विते भनेर मतदाताले प्रश्न ठड्याउने बेला आएको
छ । प्रजातन्त्र पुर्नस्थापना पछिका ३४ वर्ष वितेका छन । १० वर्ष भित्र मुलुक बनाउँछु भन्नेहरु विगत ३४ र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिका १७ वर्षहरुको फेहरिस्त हेर्दा सत्ता वरिपरी वहाँहरुकै रहनु भएको छ । मतदाता भेडा भएका कारण यस्तो झुटको खेती गर्नेहरुका बोलीमा अहिले पनि जनता ताली बजाई रहेका छन किन ? किनभने जनता त्यही रुचाई रहेका छन । स्वदेशमा उत्पादन हुनु पर्दछ, स्वदेशमा काम गर्न पाउनु पर्दछ भन्ने भनाई समाप्त भएको छ । युरोप, अमेरिका अथवा खाडी मुलुकहरुमा जाने प्रतिस्पर्धा चलिरहेको छ । मुलुक भित्र रहेका प्राकृतिक श्रोत साधनको उत्पादन गरि मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने भनाई नै समाप्त भएको छ । धनि देशहरुबाट ऋण लिने अनुदान माग्ने अनि मुलुकमा मनलाग्दी अनियमितता, भ्रष्टाचार र बेथिती मच्चाउनेहरुको राज स्थापना गर्ने गराउने अवस्थाबाट मुलुक मुक्त हुनै पर्दछ र मुलुक मुक्त पार्न आम जनता उभिनु पर्ने बेला आईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित