
सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.तारा प्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका उनी निकट स्रोतले बताएको छ ।यस्तै, एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन ।प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको नाम सिफारिस गरेको पुष्टि गरेको छ । नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे तय गरिएको छ ।मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए तर सत्तारुढ दलभित्रै मन्त्रालय विभाजन गर्न नहुने, गरेपनि आवश्यक गृहकार्य गरेर गर्नुपर्ने दबाब बढेपछि उनी रोकिएका हुन् ।सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।


















Discussion about this post