
सार्थक ब्यूरो। सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या भएको छ । उनको साविक गाउँको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । सर्लाहीको रतनपुरमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएकोमा उनी सँगै सुतेका थिए । हत्यापश्चात उनीहरू फरार रहेको उनले बताए । घरकै छेउको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार बरामद भएको छ । मन्त्री रायकै घरमा रहेको सो हतियारबाट उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धानमा जुटेको छ । घटनास्थलमै पुगेका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।
‘गएराति टाउकोमा घरेलु हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या भएको छ,’ उनले भने, ‘अहिले केही भन्न सक्ने अवस्था छैन, हामी सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं ।’ मृतक राय तीन दाजुमध्ये माइलो थिए । उनको एक श्रीमती २ छोरा तथा ५ छोरी छन् ।


















Discussion about this post