अस्पतालका नाममा चर्च खोल्ने तिन जना पक्राउ


सार्थक ब्यूरो। कैलालीको धनगढीमा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने तिनजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै जग्गा भाडामा लिएर आलिसान चर्च निर्माण गर्ने स्याङ्जाका पुकार विक, सोलुखुम्बुका प्रशान्त राई भनिने पेम दोर्जी राई र धनगढीका वीरबहादुर डगौरा पक्राउ परेका हुन् ।
पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको हो । चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिकसमेत रहेका थिए ।
चर्चमा हरेक शनिवार संगति लाग्न थालेपछि स्थानीयले बिरोध गरेपछि अस्पताल भन्दै चर्च खुलेको रहस्य बाहिर आएको हो । असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याएको थियो । लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गाधनी प्रभाकर भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने शर्तमा १५ वर्षका लागि साढे चार ४ कठ्ठा जग्गा लिजमा लिएको थियो ।
१५ वर्षपछि भवन भण्डारीकै हुने सर्तमा जग्गा लिजमा लिइएको हो । तर, लेट मेइनले करोडौं लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडा लिनेगरी चर्चलाई भवन प्रयोग गर्न दिएको छ । लेट मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईले दाबी गरेको थिए ।
सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन्। मङ्गलवार स्थानीयको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका थिए। सो टोलीमा जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेत थिए। त्यस्तै प्रमुख जिल्ला अधिकारीले छानबिन नहुँदासम्म चर्चमा कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित