
सार्थक ब्यूरो। बाजुराको खप्तडछेडेदह गाउँपालिका–६, मैतोलाका अधिकांश बासिन्दा गाउँमा पहिरो लाग्ने डरले घरबास छाड्दै त्रिपाल टाँगेर बस्न थालेका छन् । अविरल वर्षाका कारण मैतोला गाउँको तल र माथिबाट पहिरो बग्न सुरु भएको छ ।
पहिरोमा पुरिने डरले स्थानीय घर छाड्दै त्रिपालमुनि बस्न थालेका हुन् । गत साउन ५ गते राति घरमुनिसम्म पहिरो पुगेपछि घर छाडेर भाग्नु परेको मैतोलाका स्थानीय भिकारी नाथले बताए ।
साउनको पहिलो हप्तादेखि सुरु भएको अविरल वर्षाका कारण पहिरोले घर जोखिममा रहेको बिर्केसे नाथले बताए । उनले भने,– “घरमुनि पहिरो पुगेपछि डरले अहिले गाउँनजिकै त्रिपाल हालेर बास बस्न बाध्य छु । ”
यहाँका पहिरो प्रभावितलाई त्रिपालबाहेक अन्य केही राहत दिन नसकेको खप्तडछेडेदह–६ का वडाध्यक्ष हर्कबहादुर विष्टले बताए । “गाउँमाथि र मुनिबाट पहिरो लागेपछि केही परिवार सुरक्षित ठाउँमा त्रिपालमा बास बसेका छन्,” उनले भने , “केही परिवारलाई विद्यालयमा बास बस्ने व्यवस्था गरेका छौँ ।”
पहिरोबाट प्रभावित स्थानीयको अवस्थाबारे अध्ययन गरी जिल्ला विपत् व्यवस्थापन समितिमा पठाइएको अध्यक्ष विष्टले बताए । पहिरोका कारण नौ घर पूर्ण र सात घर आंशिक रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार गिरीले जानकारी दिए ।
बाढीपहिरो प्रभावितहरू राहतका लागि जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने गरेका छन् । विपत् प्रभावितका सम्बन्धमा जिल्ला विपत् व्यवस्थापन समितिले राहत उपलब्धताका लागि आवश्यक निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।
यस्तै , खप्तडछेडेदह गाउँपालिका–६ को नाइना गाउँको बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । बर्खा लागेसँगै सो गाउँको बिचमा पहिरो लागेको छ । नाइनाको पूरै गाउँ पहिरोको उच्च जोखिममा छ । नाइनाका स्थानीय शेरबहादुर विष्टले गाउँको बिचमा पहिरो लागेपछि घरमा बास बस्न डर लाग्ने गरेको बताए । स्थानीयलाई बर्खाको समय डरैडरमा रात काट्न बाध्य बनाएको छ ।
दुई दर्जनभन्दा बढी घर रहेको नाइना बस्ती पछिल्लो समय पहिरोको जोखिममा परेपछि स्थानीयलाई समस्या भएको छ । खप्तड छेडेदह गाउँपालिकाको गुइबन, धुर्तोला, गाँर्जा, गोडडी, पार्तोलालगायतका गाउँबस्ती पनि पहिरोको उच्च जोखिममा छन् । ती बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ ।
जिल्लाका नौ वटै स्थानीय तहमा रहेका बाढीपहिरो जोखिमका गाउँबस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक तथ्याङ्क सङ्कलन गरी गृह मन्त्रालय पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
















Discussion about this post