राना समुदायमा ‘सावनको डोला’को रौनक


सार्थक ब्यूरो। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको छ । राना समुदाय बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
तीज सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै राना समुदायमा ‘सावनको डोला’ को रौनक छाउँछ । परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै शैलीमा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्ने गर्दछन् , यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वकारुपमा मनाउने गरिएको राना समुदायका जानकारहरु बताउँछन् ।
भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गतेदेखि नै राना गाउँमा सावनको डोला ९पिङ० हाल्न सुरु गरेको बताए । “हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व लामो हुन्छ”, उनले भने, “तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ ।” उनले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिए । राना समुदायका महिलाले दाजुभाइ र भतिजाको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको स्थानीय राजमती रानाले बताइन् । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिनाअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उनले बताइन् ।
“हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ”, राजमतीले भनिन् “सावनकी डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन् ।
राना समुदायका पर्वहरु पुस्तान्तरण हुन नसकेको बताउँदै समुदायका जानकार सेटसिंह रानाले बदलिँदो समयसँगै हाम्रा पर्व पनि लोप हुन थालेका बताए । अहिलेका युवालाई यसप्रति चासो छैन, धेरै रोजगारीका लागि बाहिर छन्, एक महिनासम्म मनाउने यो पर्व कम थालेको छ”उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित