उद्योगको अनुमति लिएर धनगढीमा चर्च सञ्चालन

नारायण अवस्थी
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरामा सेवामूलक उद्योग खोली वार्षिक २० हजार व्यक्तिलाई व्यावसायिक तालिम दिने भन्दै विदेशी लगानी भित्र्याएर चर्च निर्माण गरिएको तथ्य फेला परेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागबाट २०८० साउन १४ गते कूल पुँजी दुई करोड रहेको उद्योग चलाउन विदेशी लगानी स्वीकृत गराइएको छ। वार्षिक २० हजार व्यक्तिलाई फेसन डिजाइन तालिम, भेटेरिनरी तालिम, इलेक्ट्रिसियन एण्ड इलेक्ट्रिकल तालिम, अटो मोबाइल रिपेयरिङ तालिम, कुक, वेटर, केयरगिभर तालिम दिने उद्देश्य देखाएर विदेशी लगानी स्वीकृत गराइएको छ।
२०८० साउन १४ गतेकै दिन कम्पनी रजिस्टारको कार्यालयमा लेट मेइन धनगढी प्रालि दर्ता गरिएको छ। विभिन्न प्रकारको भोकेसनल तालिम दिने उद्देश्य राखेर दर्ता गरिएको कम्पनीले धनगढी–७ मनेहरामा जग्गा लिजमा लिएर भवन निर्माण गरेको छ। उक्त भवनमा लेट मेइन धनगढी प्रालिले तालिम चलाउनुपर्नेमा नेपाल लाइफ वर्ड मिसनले धनगढी मण्डली चलाएको छ।
उद्योग खोल्ने, अस्पताल खोल्ने भन्दै धर्म परिवर्तन गराउन चर्च चलाइएपछि स्थानीयले बिरोध गर्नुपरेको मनेहराका स्थानीय खगेन्द्रनाथ योगीले बताए। सरकारसँग उद्योग खोल्ने भनेर विदेशी लगानी स्वीकृत गराइएको रहेछ’, उनले भने, ‘स्वीकृत उद्देश्यभन्दा फरक तरिकाले चर्च चलाउने र अवैध संरचना बनाउने काम गलत हो। नगरपालिकाले दर्ता खारेजी र संरचना भत्काएर ठिक ग¥यो।’
कुन–कुन संरचना भत्काइएरु
तालिम दिने भन्दै खोलिएको भवनमा चर्च चलाउँदै सोही चर्चलाई सेल्टर बनाएर आसपासको बस्तीमा गएर विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गर्ने काम हुन थालेपछि स्थानीयले विरोध गरेका थिए। स्थानीयको बिरोधपछि उपमहानगरपालिकाले भवन निर्माण र व्यवसाय दर्ताको उद्देश्य बमोजिम काम भएरनभएको छानबिन गरेको थियो।
छानबिनको क्रममा अवैध संरचना समेत निर्माण गरिएको फेला परेपछि ती अवैध संरचानामा डोजर चलाएको हो। नक्सा पास बिना निर्माण गरिएको, पोखरी, पेरिमिटर वाल र दोस्रो तल्लामा निर्माण भएको दुई कोठा, एक भान्सा र दुई शौचालयसहितको स्नान कक्ष भत्काइएको इन्जिनियर सुवाश पाठकले बताए। छानबिन गर्दा नक्सा पासमा उल्लेखभन्दा थप अवैध संरचान निर्माण गरिएको देखिएकाले भत्काइएको उनले बताए।
वार्षिक २० हजारलाई तालिम दिने भन्दै चर्च निर्माण
लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनले स्थानीय सरकारलाई समेत झुक्याएर चर्च चलाएको थियो। वार्षिक २० हजारलाई तालिम दिने र ९६ जनालाई रोजगारी दिने भन्दै करिब दुई करोडमा निर्माण गरिएको भवनमा योजनाबद्ध तरिकाले चर्च चलाइएको हो।
अस्पताल र उद्योग चलाउने भन्दै स्थानीयलाई भवन निर्माणको क्रममा भनिए पनि भवन निर्माणको काम सकेपछि धनगढी मण्डली चलाइएको हो। पास्टर प्रशान्त राई भनिने पेम दोर्जी राईसहित दुई जना कोरियन नागरिकले चर्चको नेतृत्व लिइरहेको पाइएको छ। चर्चबाट गाउँ–गाउँमा पुगेर धर्म परिवर्तन गर्न सेमिनार गर्ने गरेको चर्चमा भेटिएको अभिलेखमा उल्लेख छ।
थारु समुदाय इसाइकरणको टार्गेटमा
इसाइकरणलाई बढाउने उद्देश्यले मुख्य सडक छेउमा सुविधा सम्पन्न भवन निर्माण गरी चर्च चलाइएको थियो। चर्चको इन्टेरियर डेकोरेसनमा कोरियन फर्निचर र सामग्री प्रयोग गरिएको छ भने सामूहिक स्नान गृह, प्रार्थना हल, सभा हल, भान्सा, अतिथि कोठा, स्टोर रुम र महिला, पुरुष र बालबालिकाहरूलाई छुट्टाछुट्टै परामर्श दिने कक्ष निर्माण गरिएको छ।
चर्चमा भेटिएको अभिलेख र दस्तावेजमा थारु बहुल ग्रामीण क्षेत्रमा धर्म परिवर्तन गराउन हरेक दिन परामर्श शिविर राखिएको छ। कम्तिमा एक जना र बढीमा एक सय जनालाई एक दिनमा धर्म परिवर्तन गर्न परामर्श दिने गरेको अभिलेखमा उल्लेख गरिएको छ। दैनिक ज्यालादारीको काम गर्ने थारू समुदाय, महिला, वृद्धवृद्धा र बालबालिकालाई टार्गेट गरेर सेमिनार र परामर्श गरिएको पाइएको छ।
कोरियन मिसनरीसँग आवद्ध धनगढी मण्डलीमा सोलुखुम्बु, स्याङ्जा र कोरियाका पास्टरहरूले धर्मान्तरणका लागि काम गर्दै आएका छन्। शनिवार हुने प्रार्थनामा हरेकले अनिवार्य आउनैपर्ने र प्रार्थना भेटी, पास्टर भेटी, भोजन भेटी चढाउनुपर्ने नियम लगाइएको थियो। चर्चमा नियमित आउनेले अन्य भेटीको अलावा मासिक आम्दानीको दस प्रतिशत भेटी दिनुपर्ने नियम समेत रहेको एक जना विश्वासीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित