तोकिएको समयभित्र उद्योग सञ्चालन नगरेका विदेशी लगानीकर्ताको धरौटी जफत हुने

सार्थक ब्यूरो । उद्योग सञ्चालन गर्न विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने भएको छ ।उद्योग विभागले ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान विदेशी लगानीकर्ताहरू समक्ष आह्वान गरेको छ ।
सो समयभित्र लगानीकर्ताले स्वीकृत लगानी भित्र्याएको प्रमाण र उद्योग सञ्चालनको जानकारी नगराएमा धरौटी रकम जफत हुने विभागले स्पष्ट पारेको छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली तथा औद्योगिक व्यवसाय ऐन र नियमावलीमा तोकिएको अवधिभित्र स्वीकृत लगानी भित्र्याउने र उद्योग सञ्चालनमा ल्याउनु पर्ने विभागको भनाइ छ ।
नयाँ लगानीकर्ताको हकमा समेत विभागले ऐन र नियमावलीले तोकेको समय भित्र लगानी भित्र्याइ उद्योग सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।धरौटी फिर्ताका लागि विवरण खोलिएको माग निवेदन, उद्योग सञ्चालनमा आएको प्रमाण कर चुक्ता (शून्य कारोबार आएमा नमानिने), लगानी भित्र्याएको प्रमाण, उद्योग दर्ताको प्रमाण, धरौटी रकम जम्मा गरेको सक्कल प्रति, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अध्यावधिक प्रमाणपत्र समेत बुझाउनु पर्ने बताएको छ ।नेपालमा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी प्रतिबद्धता आउने गरेको छ । तर, यथार्थमा लगानी भित्रने क्रम भने कम छ । यसको फ्लोअपमा विभागले तोकिएको समयभित्र लगानी भित्र्याउन र उद्योग सञ्चालनका लागि ताकेता गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित