बाघको आक्रमणबाट अस्ताइन् हिरा – हिरा माथी आक्रमण गर्ने बाघ नियन्त्रणमा

सार्थक ब्यूरो । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज (शुक्रवार) बिहान दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले प्राविधिक टोलीले हात्तीसहितको डार्ट राखेर बाघलाई नियन्त्रणमा लिइएको बताए।
बिहीवार बिहान सोही उखुबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट दोधारा–चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहको घटनास्थलमै मृत्यु भएको थियो। घटनालगत्तै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जको टोली पनि बाघ खोज्न त्यहाँ पुगेको थियो। दुवै टोलीले एक दिनपछि मात्रै बाघलाई नियन्त्रणमा लिन सकेको हो।
बाघलाई अहिले शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयमा राखिएको छ। हीरादेवी बिहीबार बिहान घरनजिकै धान खेतमा घाँस काट्न गएकी थिइन्। करिब १० बजेको थियो। तल्लो मल्लो खेतमा पनि महिला घाँस काट्दै थिए। नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण गरेर उनलाई घिसार्दै लग्यो। तल्लो र माथिल्लोपट्टिको खेतमा रहेका महिलाहरू हल्ला गर्दै पछि लागे।
हल्ला भएपछि जम्मा भएका स्थानीय र सुरक्षाकर्मी खोज्दै जाँदा हीरा उखुबारीभित्र मृत अवस्थामा भेटिइन्। रोपाइँपछि धानमा उम्रेको घाँस काटेर गोडमेलसँगै गाईबस्तुलाई आहारा जुटाउन महिलाहरू खेतमै घाँस काट्न जान्छन्। उनको घरमा एक गाई, एक भैंसी छ। हीराको ३ वर्षअघि मात्रै विवाह भएको हो। उनका श्रीमान् गोपाल हिमाञ्चलमा मजदुरी गर्छन्। दुई महिनाअघि बुबा हर्कबहादुरको वार्षिकी सकेर गोपाल कामको खोजीमा हिमाञ्चल गएका छन्।
उनको दुई वर्षको छोरा छ। जेठानी र देउरानी दुवै सँगै बस्छन्। दुईवर्षे बालक आमा खोज्दै रोइरहेको छ। जेठानी र उनका छोराछोरीले विभिन्न कुरा गरेर भुल्याउने कोसिस गरिरहेका छन्। हीराको मृत्युबारे गोपाललाई खबर गरिएको छ। उनको शव दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
गोपाल हिमाञ्चलबाट हिँडिसकेका छन्। शुक्रबार उनी पुगेपछि मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएको छ। दोधारा चाँदनी नगरपालिका–२ कमलासा टोलमा बुधबारदेखि नै बाघ देखिएको थियो। नेपालसँगै सीमा जोडिएको भारतीय क्षेत्रमा राष्ट्रिय वन छ। त्यही वन क्षेत्रबाट बाघ बस्तीमा पसेको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित