सुदूरपश्चिममा कर सङ्कलन सम्बन्धी अध्यादेश पारित

सार्थक ब्यूरो । सुदूरपश्चिममा कर सङ्कलन सम्बन्धी अध्यादेश पारित भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्ले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको हो। आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश पास गरेको छ।
मन्त्रीपरिषद्ले अध्यादेश पास गरेपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरिएको छ। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त अध्यादेश ऐन सरहको कानून बन्नेछ भने आजैबाट प्रदेशभरी रोकिएको कर सङ्कलनको कार्य सुचारु हुनेछ।
पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन सकेको छैन। सुदूरपश्चिम नयाँ आर्थिक वर्ष सुरु भएदेखि बजेट शून्यताको अवस्थामा छ।प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पास सम्बन्धी कर, स्थानीय तहहरूले लिने मनोरञ्जन कर लगायतको कर सङ्कलन कार्य रोकिएको हो।
प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन। यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित