छेला औद्योगिक क्षेत्र :लगतमा समावेश हुनबाट छुटेका रूखहरुको लगत सङ्कलन गरिँदै

सार्थक ब्यूरो । दैजी–छेला औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक वनभित्रका रूखको लगत लिने कार्य अगाडि बढाइएको छ । बेदकोट नगरपालिका–२ र ३ मा पर्ने औद्योगिक क्षेत्रको स्वीकृत वातावरणीय प्रभाव मूल्याङकनअनुसार लगतमा समावेश हुनबाट छुटेका रूखहरुको लगत लिने कार्य अगाडि बढाइएको हो ।
औद्योगिक क्षेत्रका पूर्व, उत्तर र दक्षिणी क्षेत्रअन्तर्गत पर्ने जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वन क्षेत्रमा रूख तथा खम्बाको लगत लिने कार्य यसअघि गरिएको थियो । स्वीकृत वातावरणीय प्रभाव मूल्याङकनमा छुटेको पश्चिमतर्फको क्षेत्रमा रूखको लगत लिने कार्य अहिले भइरहेको डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले बताउनुभयो । उहाँका अनुसार औद्योगिक क्षेत्रभित्र पर्ने दुई सय ४० दशमलव ३४ हेक्टर जग्गामा रहेका रूखको लगत लिनुपर्नेमा हालसम्म दुई सय चार दशमलव ५२ हेक्टर जग्गामा रहेका रूखहरुको लगत लिने कार्य गरिएको छ ।
बाँकी ३५ दशमलव ८२ हेक्टर क्षेत्रफल जग्गामा रहेका रूखहरुको लगत लिने कार्य सुरु गरिएको छ । यसअघि औद्योगिक क्षेत्रभित्र पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार आठ सय दुई र बेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ गरी ४३ हजार दुई सय ५७ रूखको लगत लिने कार्य गरिएको अधिकृत कँडेलको भनाइ छ ।
रूखको लगत लिनका लागि डिभिजन वन कार्यालयका कर्मचारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्राविधिक कर्मचारी खटिएका छन् । लगत सङकलन गर्ने कार्य दुई हप्ताभित्र सक्ने लक्ष्य लिइएको छ ।
चुरे क्षेत्रको वन्यजन्तु ओहोरदोहोर गर्ने झण्डै १९ हेक्टर क्षेत्रलाई घटाएर बाँकी स्वीकृत गरिएको उहाँको भनाइ छ । “रूखको लगत लिने कार्य पूरा गरी मन्त्रालयमा पठाउँछौँ”, उनले भने, “मन्त्रिपरिषद्को निर्णयअनुसार रूख छपान, कटान कार्यको आदेशबमोजिम अरू कार्य त्यसपछि अगाडि बढ्छ, अहिले लगत लिने कार्य मात्रै भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित