‘बडीमालिका र बुढीनन्दा’ तीर्थयात्रा सुरु

सार्थक ब्यूरो ।धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पूजाका लागि धार्मीक बिहीबारबाट तीर्थयात्रा सुरु भएको छ । दुवै शक्ति पीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने धार्मिक मान्यता छ । सयौँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका गएको छ । बडीमालिका नगरपालिकाले केही वर्षयता औपचारिक रुपमा सरकारी टोलीलाई नै बडीमालिका तीर्थ यात्रामा पठाउने गरेको छ । त्यो भन्दा पहिला डोटी र जुम्लाबाट मात्रै सरकारी टोली पूजा सामान सहित बडीमालिका यात्रा जाने गरेको थियो ।
बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धाम लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू छन् । धार्मिक पूजा आरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन् । बडीमालिकाको दर्शनपछि मनोकाङ्क्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेका छन् ।
धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बुढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू रहेका छन् । बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजा लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित