सार्थक ब्यूरो ।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आगामी हप्ता भारत भ्रमणमा जान लागेकी हुन् । स्रोतले भ्रमणको सबै कार्यक्रम तय भए पनि मिति भने तोकिनसकेको जनाएको छ । परराष्ट्रमन्त्री राणाको यो पहिलो विदेश भ्रमण हुनेछ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा उनको भारत भ्रमणबारे निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षी वार्ता गर्ने छिन् भने अरु उच्च राजनीतिक भेटघाट पनि गर्ने छिन् । साथै उनले स्वास्थ्य जाँचसमेत गराउने जनाइएको छ ।
भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने भ्रमण गरी गत सोमबार मात्र स्वदेश फर्किएका छन् । भारतीय विदेश सचिवको भ्रमणपछि नेपालबाट परराष्ट्रमन्त्रीको भ्रमण हुन लागेको हो ।
भारतीय विदेश सचिव मिस्रीले काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री, शीर्ष नेताहरू, परराष्ट्रमन्त्री, परराष्ट्र सचिव लगायतसँग भेट गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए ।


















Discussion about this post