राष्ट्रिय सभामा नियमित शून्य समय चलाइने


सार्थक ब्यूरो ।संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रूपमा शून्य समय राख्ने निर्णय गरेको छ।आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको जानकारी गराएका हुन् ।
यसअघि राष्ट्रिय सभामा सातामा तीन दिन शून्य समय चलाइने गरिएको थियो । आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय उठाए।
राष्टिय सभाको आजको बैठकमा सांसदहरू पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताए। सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्तालाई उनीहरूको घरघरमा पुर्‍याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने धारणा राखिन् ।
सांसद रेणु चन्दले देशभरका विभिन्न स्थानमा बाढी र पहिरोका कारण तटबन्ध भत्किएको र विभिन्न स्थानका बस्तीहरू असुरक्षित भएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद विष्णुकुमारी सापकोटाले बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरूका परिवारलाई राहत र क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको स्वास्थ्य उपचार र विस्थापितलाई पुनर्स्थापना गरिनुपर्ने बताइन् ।
सांसद कृष्णप्रसाद अधिकारीले नुवाकोटको बन्चरेडाँडास्थित ‘ल्यान्डफिल्ड साइट’ वरपरका बस्तीहरू विभिन्न रोगको जोखिममा रहेको विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित