संसदीय छानबिन प्रतिवेदन : सहकारीको रकम अपचलनमा लामिछाने दोषी

 

सार्थक ब्युरो ।    सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

सहकारीबाट रकमबाट गोर्खा मिडियामा ल्याएको ६५ करोड ५४ लाख रकम जीबी राई र रवि लामिछानेलेचेक काटेर खर्च गरेका छन् । समितिले सोमबार बुझाएको प्रतिवेदनमा पैसा खर्च गर्न रविको संलग्नता रहेकाले कारबाहीको सिफारिस गरेको छ ।

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ ।

रास्वपाबाट समितिका सदस्य रहेका शिशिर खनालले गोरखा मिडियाको दायित्व लिने कुरामा मात्रै रवि लामिछानेको कुरा आएको बताए । ‘गोरखा मिडियामा आन्तरिक र आर्थिक प्रशासन सञ्चालन गर्ने क्रममा दायित्व सिर्जना हुने हो भने त्यसको जिम्मेवारी लिनुपर्छ भन्ने हो ‘ खनालले भने,’कारबाहीको सिफारिस पनि गोरखा मिडिया सञ्चालकको हिसाबमा काननुअनुसार जे दायित्व लिनुपर्छ, त्यसको हकमा भनिएको हो तर यसबारे थप अनुसन्धान गर्नुपर्छ ।’

लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको प्रमाण खोज्दै आएका छन् तर छानबिन समितिले उनको दोष पुष्टि हुने दर्जनौं प्रमाण जुटाएको छ ।

जीबी अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीका करिब ५० हजार सर्वसाधारणले बचत गरेको रकम सारिएको थियो ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेले सहकारी बचतकर्ताले प्रहरीमा दिएको उजुरीलाई पनि दबाउन लगाएर अनुसन्धानमा अवरोध गरेको भन्दै संसद्मा लगातार आवाज उठेपछि गत जेठ १५ मा संसदीय छानबिन विशेष समिति गठन भएको हो । समितिलाई दिइएको कार्यादेशमा गोर्खा मिडिया नेटवर्कमा रकम ल्याइएका सहित २९ वटा सहकारीमाथि छानबिनको कार्यक्षेत्र तोकिएको थियो । समितिको पहिलो बैठक जेठ २२ मा बसेको थियो । त्यसै दिनबाट समितिलाई प्रतिवेदन बुझाउने समय भदौ २२ गतेसम्म दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित