
सार्थक ब्यूरो ।कञ्चनपुरमा शिलान्यास गरिएको दैजी–छेला औद्योगिक क्षेत्र निर्माणको काम अलत्रप छ।संघीय मन्त्रिपरिषद्को निर्णयले २०७२ चैत १ गते दैजी–छेला औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो। तीन सय ५५ बिघा क्षेत्रफलमा बन्ने दैजी–छेला औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन भने स्वीकृत भइसकेको छ। दैजी–छेला औद्योगिक क्षेत्रमा सात कट्ठादेखि पाँच बिघाका एक सयवटा प्लट हुने डिपीआरमा उल्लेख छ।
बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइएको सो औद्योगिक क्षेत्रको कुल लागत ९ अर्ब लाग्ने देखिएको छ भने आयोजना निर्माणपछि २२ हजारले रोजगारी पाउने अनुमान गरिएको छ। साढे २ दशकअघि नै वेदकोट नगरपालिका–२ को छेलामा औद्योगिक क्षेत्र स्थापनाको चर्चा सुरु भएको हो। काम थाल्न दबाबका निम्ति स्थानीय स्तरमा विभिन्न समितिहरू बनाइए।
त्यही दबाब र अध्ययनपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले औद्योगिक क्षेत्र स्थापनाको तयारी थाल्यो। २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास पनि गरे। २ वर्षभित्र उद्योग स्थापना गरिने लक्ष्यका साथ शिलान्यास भए पनि अहिलेसम्म काम हुन सकेको छैन्।
दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाका लागि गठित संघर्ष समितिका अध्यक्ष रामदत्त जोशीका अनुसार शिलान्यासपछि डेलिगेसनसहित काठमाडौं पुगे पनि अहिलेसम्म ठोस रूपमा काम हुन नसकेको हो। छेलामा औद्योगिक क्षेत्र स्थापनाको चर्चा २०५१ देखि सुरु भएको हो। तत्कालीन सरकारले सम्भाव्यता अध्ययनका लागि २ लाख बजेटसमेत विनियोजन गरेको थियो। त्यसयता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बेला–बेलामा अध्ययन गर्दै आएको थियो।
यस क्षेत्रका उद्योगी, व्यवसायी र संघ संस्थाहरूले औद्योगिक क्षेत्र स्थापनाका लागि निरन्तर दबाबसमेत दिँदै आएका छन्। औद्योगिक क्षेत्र स्थापनाका लागि वेदकोट नगरपालिका–२ स्थित जनचेतना सामुदायिक वन र वडा नम्बर ३ स्थित वेदकोट सामुदायिक वनका २५ हजार रूख काट्नुपर्ने देखिएको छ।
दैजी–छेला औद्योगिक क्षेत्रको प्रगति स् शिलान्यासको २ वर्षपछि बल्ल सम्पर्क कार्यालय
रुख कटानीपछि डिपिआरअनुसार निर्माण प्रक्रिया अघि बढ्ने दाबी गरिएको छ। दैजी–छेला औद्योगिक क्षेत्र निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी कृष्णबहादुर पुनले बताए। २०७९ फागुनमा दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय समेत स्थापना गरिएको थियो। तर नेताहरुले चर्चा बटुल्न कहिले शिलान्यास त कहिले सम्पर्क कार्यालय स्थापना गर्नेबाहेक कुनै काम अघि बढाउन सकेका छैनन्।
















Discussion about this post