
सार्थक ब्यूरो । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनका एमाले वडा कमिटीले दुई जना आकाँक्षीको नाम सिफारिश गर्ने निर्णय गरेको छ ।वडा कमिटीको शनिबार बसेको विस्तारित बैठकले एमाले जिल्ला कमिटी सदस्य राजेन्द्र आग्री र बहादुर चन्दको नाम नगर कमिटीमा सिफारिश गर्ने निर्णय गरेको हो ।
एमाले केन्द्रीय कमिटीले केही दिन अघि उप निर्वाचनका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीलाई विशेष सर्कुलर गरेको थियो । केन्द्रीय कमिटीको सर्कुलरका आधारमा वडा कमिटीले भीनपा ६ को वडा अध्यक्षका लागि आग्री र चन्दको नाम सिफारिश गरेको हो ।
वडा कमिटीबाट सिफारिश गरिएका नामलाई नगर कमिटीले राय सहित जिल्ला कमिटीमा पठाएपछि अध्यक्षका उम्मेदवारको टुङ्गो लाग्नेछ । एमालेले कार्तिक १५ गतेभित्र उम्मेदवार टुङ्गो लगाउने गरी उम्मेदवार चयन प्रक्रिया अघि बढाएको हो ।
वडा कमिटी अध्यक्ष चुडामणी कलौनीको अध्यक्षतामा बैठक बसेको छ । एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा बसेको बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्यहरु महेश पन्त, लक्ष्मी, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, जिल्ला कमिटी सदस्य आग्री, नेताहरु बीर बहादुर चन्द बिश्राम, सरस्वती रावल, चन्द्रराम बिक, नितेश रावल लगायतका सहभागी भएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्का गत वर्ष निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो । २०७९ को निर्वाचनमा एमालेले ६ नम्बर वडा गुमाएको थियो ।एमाले उप निर्वाचनलाई गुमेको विरासत फर्काउने अवसरका रुपमा लिएर निर्वाचनमा होमिने मनस्थितिमा छ । एमालेले २०४९ देखि निरन्तर जित्दै आएको ६ नम्बर २०७९ को गुमाएको थियो । त्यस अघि २०७४, २०५४ र २०४९ मा एमालेले लगातार चुनाव जितेको थियो ।


















Discussion about this post