विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग सम्झौता

सार्थक ब्यूरो।विश्व बैंकले नेपाललाई विपद व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको हो ।
बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनःस्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औं वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुको संयुक्त बैठकमा सहभागी हुन अमेरिका आउनु भएको हो । अर्थमन्त्री पौडेलले बैठकमा सहभागी भई नेपालको आवश्यकता र सहयोगको अपेक्षाबारे आफ्नो धारणा राख्नुभएको छ ।
अर्थमन्त्री पौडेलले आफ्नो अमेरिका बसाईलाई देशको हितमा फलदायी बनाउन सक्रियता बढाउनु भएको छ । यही क्रममा उहाँले आज नै विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरुसँग अलग–अलग भेटवार्ता गर्नुभएको छ । उक्त भेटवार्ताको क्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष मार्टिन रेजर र कार्यकारी निर्देशक वेम्पी सपुत्रसँग बहुपक्षीय सहायता परिचालनका विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा अर्थमन्त्री पौडेलले विश्व बैंकले नेपालको यातायात, उर्जा, शिक्षा लगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रका कार्यक्रम तथा परियोजनामा पुर्याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा सहयोगको क्षेत्रलाई अझ फराकिलो र प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
त्यसैगरी, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिन याङसँग पनि अर्थमन्त्री पौडेलको आजै विश्व बैंक मुख्यालयमा भेटवार्ता भएको छ । भेटकोक्रममा एसियाली विकास बैंक नेपालको मुख्य विकास साझेदारको भूमिकामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार एवं सामाजिक विकासको क्षेत्रमा थप सहायता परिचालन गर्न आग्रह गर्नुभएको छ ।
उहाँले आज नै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीको पनि भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा उहाँले निगमले नेपालमा निजी क्षेत्रको विकासमा लगानी बढाउँदै लगेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा निगमका गतिविधिमा प्रभावकारिता ल्याउन र थप विस्तार गर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट निजी क्षेत्रको विकासमा अनुकूल वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । अर्थमन्त्री पौडेल बुधवार बिहान वासिङ्टन डिसी आइपुग्नु भएको थियो । अमेरिका ओर्लनसाथ उहाँले आफ्नो सक्रियता बढाउनु भएको छ ।
अमेरिकामा रहँदा उहाँले नेपाली समुदायका अगुवासहित प्रवासी नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित