
सार्थक ब्यूरो।प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमवार ‘नेपाल संवत् न्हूद ११४५ राष्ट्रिय समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभएको हो । “राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षाैँ लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुुपर्छ ।” इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवार संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धूनहरु रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गर्नुभयो । सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गर्न भयो । उहाँले राष्ट्र बैँकबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरुमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गर्न भयो । सोही अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुुगमनको व्यवस्था गर्न सुुझाव दिनुुभयो । सरकारले २०६५ मा साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाःको प्रतिमामा माल्यार्पण र काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमापूर्वमन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरु हीतकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा.डा. नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ ले यस वर्षको लागि नेपाल संवत्को नारा सार्वजनिक गरेको छ । समितिले यस वर्षका लागि ‘राष्ट्रिय एकताको संस्कार, नेपाल संवत् हो आधार’ नारा तय गरेको छ । समितिले नयाँ वर्षको विविध कार्यक्रमबारे जानकारी दिने उद्देश्यका साथ आज बिहान नेपाः ब्याङ्क्वेटमा चियापान कार्यक्रमको आयोजना समेत गरेको छ । सोही कार्यक्रममा केही दिन अगाडि ग्वंगःबुँमा भएको नेपाल संवत् सम्बन्धी विविध १४ बुँदे निर्णय पनि सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ ।


















Discussion about this post