
सार्थक ब्यूरो ।नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्याली निकालिएको छ। विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्याली निकालिएको हो। राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको र्यालीले सहर परिक्रमा गरिरहेको छ। र्यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुशी साट्दै हिँडेको देखिन्छ।
नेपाल संवतलाई हाल विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा। त्रिरत्न मानन्धरले जानकारी दिए। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशका नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्दगरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ।
यही परम्पराअनुसार शुक्रबार बही खाता बन्द गरेका काठमाडौँ उपत्यकाका नेवार समुदायले आजदेखि नयाँ बही खाता खेल्दै छन्। यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाउँदै छन्। गत वर्षदेखि नै नेपाल संवतलाई सरकारी कागजातमा अनिवार्य रुपमा उल्लेख गर्न थालिएको छ।-रासस


















Discussion about this post