
सार्थक ब्यूरो । सत्ता साभेदार एमाले काँग्रेस उप निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएर मतदाताका घरदैलोमा पुग्दासम्म प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र सहित प्रतिपक्ष दलले अहिलेसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।
प्रतिपक्षी दल एकीकृत समाजवादी बाहेक अन्य दलले उम्मेदवार टुङ्गो लगाउन नसकेका हुन्। । समाजादीले जितेन्द्र बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते वडा अध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो । २०७९ को निर्वाचनमा वडा अध्यक्ष निर्वाचित महेन्द्र खड्काको गत वर्ष निधन भएको थियो ।
उप निर्वाचनका लागि एमालेले सबैभन्दा पहिले उम्मेदवार टुङ्गो लगाएको थियो । एमालेबाट शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक बहादुर चन्द चुनावी मैदानमा छन् ।
एमालेको भीमदत्त नगर कमिटीले आकाँक्षी दुई जनाबीच छलफल गरी चन्दलाई उम्मेदवारका लागि जिल्ला कमिटीमा सिफारिश गरेको थियो । एमाले कञ्चनपुरको सचिवालय बैठकले चन्दलाई उम्मेदवार बनाउने निर्णय अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
एमाले भीनपा ६ मा २०७९ को निर्वाचनमा गुमेको विरासत फर्काउने लक्ष्य राखेर मैदानमा होमिएको छ । काँग्रेसले वडा सभापति प्रकाश चन्दलाई उम्मेदवार बनाएको छ । काँग्रेस उम्मेदवार चन्द एमाले उम्मेदवार चन्दका सहोदर भतिजा हुन् ।
एमाले काँग्रेसले निर्वाचन कार्यक्रमलाई व्यवस्थित गर्न ऐठपुरमा सम्पर्क कार्यालय राखि सकेका छन् । दुबै दलका उम्मेदवार अहिले सहयोगका लागि मतदाताको घरदैलोमा पुगि रहेका छन् ।
नेकपा माओवादी केन्दको भीमदत्त नगर कमिटी बैठकले उप निर्वाचन सम्बन्धि छलफल गरेको छ । बैठकमा पार्टी संगठन विस्तार लगायत विषयमा पनि छलफल भएको बताईको छ ।
माओवादी केन्द्रबाट २०७९ को निर्वाचनमा अम्बादत्त भट्ट उम्मेदवार भएका थिए । नगर कमिटी बैठकमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि छलफल गरिएको छ ।
बैठकमा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, केन्द्रीय सदस्य माया नेगी लगायतका नेताहरु सहभागी भएका छन् ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अहिलेसम्म उम्मेदवार घोषणा गरेका छैनन् ।
















Discussion about this post