भिनपा वडा नं ६ उपनिर्वाचन प्रचार प्रसार मा अग्रता कायम गर्दै एमाले

 

 

सार्थक ब्युरो।सर्वसम्मत वडाध्यक्षको उम्मेदवारी घोषणासँगै नेकपा (एमाले) कञ्चनपुर उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी मंसिर १६ गते भीमदत्त नगरपालिका वडा नं. ६ मा हुने उपनिर्वाचनको तयारीका लागि मूल निर्वाचन परिचालन समिति गठन गरी तयारी थालिएको हो /२०७९ को स्थानीय तह चुनावमा वडा नं. ६ को अध्यक्षमा कांग्रेसका महेन्द्र खड्काले बाजी मारेका थिए । मोटरसाइकल दुर्घटनामा उनको निधन भएपछि यो वडामा उपनिर्वाचन हुन गइरहेको छ ।२०४९ देखिका सबै स्थानीय चुनावमा भने एमालेले जितको इतिहास रच्दै आएको थियो । अघिल्लो चुनावमा गुमेको बिरासत पुनः फर्काउनका लागि एमालेले यो चुनावलाई प्रतिष्ठाको विषय बनाउने निश्चित छ । तयारी हेर्दा त्यसको छनक स्पष्टै देखिन्छ ।अन्य प्रतिस्पर्धी पार्टीहरु भन्दा पहिल्यै सर्वसम्मत ढंगले उम्मेदवार खडा गरेको एमालेले झण्डै एक चरणको घरदैलो सक्काएको छ । निर्वाचन परिचालन समिति गठन गरी नेताहरुको जिम्मेवारी बाडफाट गरिएको छ ।एमालेले पूर्व शिक्षक बहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । चन्दले एक चरणको घरदैलो सक्काएको र मतदाताको रुझान आफूतर्फ भएकाले उत्साहित भएको प्रतिक्रिया दिए । चन्दले वडा नं. ६ मै रहेको शान्ति निकेतन माध्यमिक विद्यालयमा ४० वर्ष सम्म शिक्षण पेशा गरेका थिए । प्राथमिक देखि माध्यमिक तह बनाउन मात्रै होइन्, गुणस्तरीय शिक्षा प्रदान गर्ने कञ्चनपुरकै अग्रणी विद्यालयमा नाम दर्ज गराउदा उनले नै प्रधानाध्यापकको रुपमा शिक्षण संस्था हाकेका थिए ।शिक्षणसँगै खेलकुदको पृष्ठभूमि भएका चन्द आफ्नो कुरा खरो र प्रष्टसँग राख्ने व्यक्तिका रुपमा समाजमा परिचित छन् । विगतका राजनीतिक परिवर्तनहरुमा उनी शिक्षक संगठनमा आवद्ध भई आन्दोलनको अग्र मोर्चामा खटिने गरेको स्मरण उनका सहकर्मीहरु गर्छन । ‘लामो समयसम्म विद्यालय हाँके,’ चन्दले भने, ‘अब वडा नं. ६ का आम मतदाताहरुले वडा हाँक्ने जिम्मेवारी प्रदान गर्नेमा विश्वस्त छु ।’

निर्वाचन परिचालन मूल कमिटीका संयोजक तथा एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले एक चरणको घरदैलो कार्यक्रम सम्पन्न भएको र मतदाताको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । ‘हाम्रो वडामा २६ वटा टोल छन्, तिनलाई ९ टोलमा बिभाजन गरी यस वडामा भएका पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र सीमा जोडिएका वडाका जिम्मेवार नेता, कार्यकर्ताहरुलाई खटाउने गरी जिम्मेवारी तोक्ने काम भइरहेको छ,’ उनले भने ।वडा नं. ६ मा एमाले र कांग्रेसकै बीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेसबाट प्रकाश चन्द उम्मेदवार छन् । २०४९, ०५४ र ०७४ मा यो वडामा एमालेले बाजी मारेको थियो । ०७९ को चुनावमा बिरासत गुमाउनुको एउटा कारण पार्टी फुट पनि भएको बिश्लेषण गर्दै एमालेले एकीकृत समाजवादीमा गएका केही नेताहरुलाई पार्टीमा भित्र्याएको छ । त्यसले गर्दा पनि यसपटक परिणाम सुखद हुने अपेक्षा नेताहरुले गरेका छन् ।कार्यकर्ताहरुमा पनि उत्साह थपिएको र उनीहरु मतदातामाझ पुग्दै मत माग्न थालेको जिल्ला उपाध्यक्ष अवस्थीले बताए ।मूल निर्वाचन परिचालन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटी पदाधिकारीलगायतको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले प्रचारप्रसार रणनीतिबारे आआफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित