छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

 

 

सार्थक ब्यूरो । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी आएको छ ।
छेकबार लगाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आवासीय क्षेत्र र खेतबारीमा जङ्गली जनावर आउन छाडेका हुन् । निकुञ्ज क्षेत्रबाट छिर्ने बँदेल, निलगाई, चित्तललगायत जनावरले खेतबारीमा लगाएको सागसब्जीदेखि अन्नबाली खाएर स्थानीय किसानलाई हैरान पारेका थिए ।
“निलगाई र चित्तलको बथानले रातिका बेला बारीमा छिरेर पूरै बाली सखाप पार्ने गर्दथे, परिवार पाल्नकै लागि स्थानीयले भारततर्फ लाग्नु पर्दथ्यो”, स्थानीय रतन रानाले भने, “तारको छेकबार जडानपछि त्यो कार्य रोकिएको छ ।
सुनदेवी उपभोक्ता समितिले ताल, राष्ट्रिय प्रकृति संरक्षण कोष, वातावरण मध्यवर्ती सामुदायिक वनको सहयोगमा छेकबार लगाएको हो । तारजालिमा प्रतिमिटर रु दुई हजार दुई सयका दरले खर्च भएको जनाइएको छ ।
मानव–जीवजन्तुबीचको द्वन्द्व कम गर्न छेकबारसँगै ८० वटा पोलमा विद्युतीय र सौर्य बत्ती जडान गरिएका छन् । साथै १० स्थानमा साइरन जडान गरिएको छ । निकुञ्ज नजिकका ७० जनालाई हेलोजन टर्च’ र हात्ती धपाउन प्रयोग हुने सात थान बन्दुक पनि प्रदान गरिएको छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित