सार्थक ब्यूरो । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गर्नुभएका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो । उहाँको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबीे फलेको छ ।
शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थाल्नुभएका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताउनुभयो । किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उहाँले सुरुमा दोलखाबाट एक सय १० बोट ल्याएर खेती गरेको जानकारी दिनुभयो । मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ ।किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिनुभयो । विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उहाँले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गर्नुभयो ।
सुरुका वर्ष प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताउनुभयो । “किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन । बगानभित्र आलु, सागसब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु ।
पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिनुभयो । हाल बिरुवा र फलबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गरिरहनु भएका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क हुनुहुन्छ ।
छ देखि आठ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताउनुभयो । लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन् । – रासस


















Discussion about this post