प्रधानमन्त्रीको भारत भ्रमणको संकेत

सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण ऐतिहासिक भईदियो । नेपालको इतिहासमा क्रमभंगता गर्दै ओलीले पहिलो राजनीतिक विदेश भ्रमण चीनबाट सुरु भएको छ त्यसले नेपालको आन्तरिक राजनीतिमात्र होइन, बाह्य, कूटनीति र राजनीतिक प्रभावलाई पनि आकर्षित गरेको छ । कूटनीतिक क्षेत्र, शक्ति केन्द्रलाई चासो र चिन्ताको विषय बनाएको छ । त्यसैले, स्वाभाविक रुपमा ओलीको चीन भ्रमण चर्चामा रह्यो तर त्यसले पारेको दूरगामी प्रभावको विषयमा भने कमै चासो राखिएको छ । तरपनि त्यसले नेपालको शक्ति समीकरण र भूराजनीतिक प्रभावलाई फरक पार्ने संकेतहरु भने देखिएका छन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बीआरआई परियोजनाहरु कार्यान्वयनको बाटो खोलिदिएका छन् । विभिन्न कूटनीतिक नियनेग र शक्तिकेन्द्र उक्त सम्झौता नहोस् भन्ने चाहन्थे । त्यसका लागि नेपालभित्रका शक्तिकेन्द्रलाई बाह्य शक्ति केन्द्रले उपयोग पनि गरेका थिए । तर, पनि प्रधानमन्त्री ओली उक्त सम्झौताबाट पछि हटेनन् अन्तिम समयमा सम्झौता गरेर चीन भ्रमणलाई थप ऐतिहासिक बनाए । यो भ्रमणका सम्झौताले नेपालको विकासको चाहना र कनेक्टिभिटीको सपनालाई दूरगामी प्रभाव पार्ने संभावनाको ढोका खुला गरेको छ । नेपालको पूर्वाधारहरुको विकास दक्षिणी लाइनमा भइरहेको थियो, त्यसलाई उत्तरी लाइनमा फर्काउन कम जोखिमपूर्ण थिएन र छैन । त्यसमा प्रधानमन्त्री ओलीले हिम्मत जुटाएका छन् । आफ्नो प्रभाव र आफूवेष्ठित होस् भन्ने दक्षिणी लाइनलाई क्रस गर्ने हिम्मत जुटाएका केपी ओलीलाई अन्य शक्ति केन्द्रले कति दबाबमा राख्न खोजिरहेका छन् भन्ने पनि चासोको विषय रहेको छ ।
मुख्यगरी भारतीय लाइन के हो रु र ओलीप्रति कस्तो धारणा राख्छ रु भन्ने निकै चासोको विषय बनेको छ । यद्यपि, प्रधानमन्त्री ओली भने भारत भ्रमणको प्रयास गर्न थालेका छन् । विभिन्न सम्पर्क सूत्र तथा ट्रयाक टु कूटनीतिमार्फत भ्रमणका लागि प्रयास हुन थालेको स्रोत बताउछ । चीनसँग ओलीको नजिकिँदो सम्बन्धका कारणले पनि भारत पछिल्ला दिनमा ओलीलाई इन्गेज गर्ने रणनीतिमा पनि रहेको कूटनीतिक क्षेत्रमा विश्लेषण हुन थालेको छ । स्रोतहरुका अनुसार, त्यही रणनीतिका कारणले पनि भारत पछिल्ला दिनमा ओलीको भ्रमण गराउने संकेत देखाईरहेको छ ।
पहिला भ्रमण गराउन अनिच्छुक भारत अहिले भने इच्छा प्रकट गरिरहेको संकेत पाइन्छ । त्यसैले २०८१ पुस ५ गतेबाट भारत जान लागेकी परराष्ट्रमन्त्री आरजु राणाले पनि प्रधानमन्त्रीको भारत भ्रमणका लागि अनौपचारिक संवादहरु गर्ने चर्चा काठमाडौंमा सुरु भएको छ । नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीनपटक निमन्त्रणा गरिसकेको छ । तर, उसले भने निमन्त्रणा स्वीकार पनि गरेको छैन र नेपालका प्रधानमन्त्रीलाई बोलाएको पनि छैन । तर, प्रधानमन्त्री ओलीलाई धेरै पर नधकेल्नका लागि पनि भारत ओलीलाई निम्ता गर्ने संकेत दिइरहेको कूटनीतिक स्रोतहरुको भनाई छ । त्यसैले, अहिले ट्रयाक टु डिप्लोमेसी पनि प्रयोग भइरहेको स्रोतको दावी छ । भारतको पछिल्ला दिनमा चीनसँग पनि सम्बन्ध सुधार हुने क्रममा रहेको छ ।
भारतको सम्बन्ध क्यानडा र अमेरिकासँग बिग्रिदै गएपछि चीनसँग सुधारको संभावना बढेको हो । रुसको मध्यस्थतामा भारतले चीनसँग सम्बन्ध सुधार गर्न थालेको विश्लेषण पनि भइरहेको छ । हुन पनि, ब्रिक्सको बेलामा दुुई देशवीच केही महत्वपूर्ण सहमति गरेका छन् । उनीहरुवीच सीमा विवादलाई पहिलाकै अवस्थामा थाती राखेर आर्थिक सहकार्यमा जोड दिनेगरी सहमति गरेका छन् । त्यसले, चीन पनि भारतलाई धेरै पर धकेल्ने पक्षमा नरहेको र चीनसँग दूरी राखेर भारतलाई पनि फाइदा नहुने बुुझाइमा भारत पुगेको अर्थमा हेरिएको छ । त्यसमाथि भारतका छिमेकीहरुसँग निरन्तर सम्बन्ध बिग्रिदै गएको छ । बंगलादेश, श्रीलका, माल्दिभ्ससँग भारतको सम्बन्ध निकै बिग्रिएको छ । पाकिस्तानसँग पनि उसको सम्बन्ध राम्रो छैन भने बर्मा र नेपालसँग पनि सम्बन्ध बिग्रिइरहेको अवस्था छ ।
भुटान स्वयम् पनि भारतसँग रुष्ट देखिन थालेको छ । त्यसैले, भारत दक्षिण एशियाको ठूलो आर्थिक शक्ति भएपनि छिमेकीसँग बिग्रँदो सम्बन्धका कारणले अप्ठ्यारोमा भने परिरहेको छ । त्यसकारणले पनि चीनसँग सम्बन्ध सुधारमात्र होइन, नेपालसहितका देशसँग सम्बन्ध सुधार भारतका लागि बाध्यताको विषय बनेको छ । त्यसले गर्दा पनि प्रधानमन्त्री ओलीलाई निकट भविष्यमै भारतले भ्रमण गराउने चर्चा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित