सार्थक ब्यूरो ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकदले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्व सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३ औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताउनुभयो ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौँ नगरपालिकाका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा गएराति १ः०० बजे निधन भएको हो । स्व सिंहले लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकट रहेर कार्य गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा उहाँले पटक–पटक जेल जीवन व्यतीत गर्नुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उहाँ काठमाडौं नगरपालिकाको पहिलो नगरप्रमुख निर्वाचित हुनुभएको थियो । स्व सिंहकै पहलमा विसं २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
यसैगरी विसं २०५६ मा उहाँ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य हुनुभएको थियो । स्व सिंहले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहलाई प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्मरण गरिएको छ ।नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको सामीप्यमा रही नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि योगदान दिनुभएका सिंहले सत्य, निष्ठा र इमान्दारको प्रतीकका रूपमा आफ्नो छवि बनाउनुभएको उहाँका सहकर्मीले प्रतिक्रिया दिनुभएको छ ।समाजसेवी हितकरवीरसिंह कंसाकारले हरेक नागरिकदेखि माथिल्लो ओहदामा रहने सबैलाई समान व्यवहार गर्ने सिंह प्रजातन्त्रप्रति अडिग र ज्यादै इमान्दार नेता हुनुहुन्थ्यो भन्नुभयो ।मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी भई उहाँले विसं २०४९ मा तत्कालीन काठमाडौँ नगरपालिका प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । कंसाकारले भन्नुभयोे, “पिएलजी गणेशमानसिंह र मङ्गलादेवीको सामीप्यमा रही राजनीतिक सहयोगीका रूपमा लामो समय काम गर्नुभयो, प्रजातन्त्रवादी योद्धा पिएलले काठमाडौँ नगरपालिकालाई विश्वमा चिनाउन धेरै महत्वपूर्ण कामसमेत गर्नुभएको छ ।प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट विजयी भएपछि वातावरणमन्त्री बन्नुभएका सिंहले त्यसअघि नै काठमाडौँलाई स्वच्छ, सफा र हराभराको नारा दिएर काम गर्नुभएको थियो । उहाँका पिता स्वास्थ्यकर्मी चन्द्रमान सिंहसमेत तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध र प्रजातन्त्रका पक्षमा लामो समयसम्म संलग्न भई काम गर्नुभएको थियो ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रप्रति प्रतिबद्ध सिंहले विसं २०४२ को सत्याग्रह र विसं २०४६ को जनआन्दोलनका बेला कुशलतापूर्वक पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “गणेशमानजीको राजनीतिक सहयोगीका रूपमा पिएलले काम गर्नुभयो । उहाँ समाजमा सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ भन्नुहुन्थ्यो । स्वच्छ, सफा र हराभरा काठमाडौँ अभियान उहाँले सुरु गर्नुभयो । उहाँ प्रजातन्त्रप्रति निष्ठावान् र अडिग व्यक्ति हुनुहुन्थ्यो ।काठमाडौँ ताम्सिपाखामा विसं १९९६ चैत ११ गते जन्मनुभएका पिएलको अन्त्येष्टि त्यही नजिक लखुतीर्थमा गरिँदैछ । उहाँ अविवाहित हुनुहुन्थ्यो ।


















Discussion about this post