सार्थक ब्यूरो । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीले सहकारीबाट रकम ल्याउने र खर्च गर्ने बिषयमा आफू कँही कतै संलग्न नरहेको बयान दिनुभएको छ ।जोशीले कम्पनीमा जीबी राईले रकम ल्याउने र रवि लामिछानेले खर्च गर्ने गरेको बयान प्रहरीसमक्ष दिनुभएको हो । विभिन्न सहकारीबाट कानुनविपरीत गोर्खा मिडियामा रकम ल्याएको विषयमा जीबी राई र रवि लामिछानेलाई नै थाहा भएको जोशीको बयानमा उल्लेख छ ।
सहकारी ठगी, संगठित अपराधलगायतका कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहनुभएका जोशीले बयानमा गोर्खा मिडियामा आएको रकमबारे कार्यकारी अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रबिलाई मात्रै थाहा भएको बताउनु भएको छ ।
गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा सूर्यदर्शन सहकारीबाट सहकारी ऐन, नियम र सहकारीको सिद्धान्तविपरीत रकम गएको सम्बन्धमा सम्पूर्ण जिम्मेवार गितेन्द्रबाबु राई र रवि लामिछाने हुन, उनीहरुलाई नै थाहा छ,’ जोशीले बयानमा भन्नुभएको छ । जोशीले कुनै पनि सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ऋण लिनका लागि छलफल समेत नभएको तथ्यसमेत बयानमा खोल्नुभएको छ ।
सूर्यदर्शन लगायत कुनै पनि सहकारी संस्थाहरूबाट गोर्खा मिडियाको लागि ऋण लिने भन्ने विषयमा कोही कसैसँग छलफल, परामर्श केही भएको थिएन र हामीले यस प्रकारको गैर कानुनी तवरबाट रकम ल्याउनको लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्युट गराउने जस्ता कार्य गरेका थिएनौं,’ जोशीले बयानमा भन्नुभएको छ, ’बैंकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिने अवस्था थियो ।
पर्वडिआइजी जोशीले गोर्खा मिडिया नेटवर्क सञ्चालनका क्रममा जीबी राईसँग विवाद भएको कुरा पनि बयानमा खोल्नुभएको छ ।
गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको बैंकको खातामा रकम जुटाउने कार्य गितेन्द्रबाबु राईबाट र बैंकमा मौज्दात गरेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने गरेका थिए,’ जोशीले बयानमा भन्नुभएको छ, ’गोर्खा मिडिया नेटवर्क प्रालिमा मैले कुनै पनि रकम लगानी गरेको थिइन । गितेन्द्रबाबु राईले उक्त मिडिया खोल्ने क्रममा ५ करोडको सेयरपुँजी देखाई मलाई साझेदार बनाएपछि कम्पनीको नाउँमा बैंकबाट ऋण लिने प्रक्रिया गर्दागर्दै सेयर पुँजी १२ करोड पुर्याउने क्रममा हाम्रो मनमुटाव सिर्जना भएको थियो ।


















Discussion about this post