सार्थक ब्यूरो । आयुर्वेद चिकित्सा सेवा जडीबुटी, शिक्षा, तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्ययोजना तर्जुमा कार्यदलले यस विषयमा सुझाव पेश गरिसकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्नका लागि आयुर्वेद पर्यटनलाई पनि जोड्न खोजिँदैछ ।
आयुर्वेद चिकित्सा सेवा जडीबुटी, शिक्षा, तथा अध्ययन अनुसन्धानका लागि कोशी प्रदेशलाई मुख्य केन्द्रको रुपमा विकास गर्न कार्ययोजना सहित आवश्यक सुझाव लिनका लागि प्रदेश सरकारले कार्यदल बनाएको थियो । कार्यदलले सुझाव दिइसकेकाले अब कार्यन्वयनमा लैजाने उहाँले जनाउनुभयो ।
कार्यदलले कोशी आर्युवेद विज्ञान प्रतिष्ठान बनाउन र त्यसको सञ्चालनका लागि कार्ययोजना पेश गरे अनुसार प्रक्रिया अघि बढ्ने बताइएको छ ।
प्रदेश सरकारले लगातर दुई वर्ष अघिदेखि प्रतिष्ठान बनाउनका लागि आवश्यक प्रक्रिया थाल्ने नीति तथा कार्यक्रममा उल्लेख गर्दै आएको थियो । आफैं आत्मनिर्भर बन्ने र प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी प्रतिष्ठान बनाएर जनशक्ति उत्पादनदेखि आर्युवेद उपचारपद्धतीलाई विश्वासिलो रुपमा अघि बढाउन अपनाउनु पर्ने विधि प्राप्त भइसकेकाले अब प्रदेश सरकारले यस विषयलाई प्राथमिकतामा राखेर काम गर्न कार्कीले बताउनुभएको छ ।
डा. खेमराज कार्कीको संयोजकत्वमा बनेको कार्यदलले दिएको सुझाव अनुसार यसै आर्थिक वर्षदेखि कार्यप्रारम्भ गर्न सकिने अवस्था रहेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाहरूलाई वैज्ञानिक, प्रभावकारी र सर्वसुलभ बनाई आयुर्वेद लगायत अन्य चिकित्सा पद्धतीहरुमार्फत् गुणस्तरीय सेवा प्रदान गर्न वैज्ञानिक र समय सापेक्ष ज्ञान र सिप भएको जनशक्ति उत्पादन जोड दिइएको छ ।
कार्यदललाई कोशी आयुर्वेद प्रतिष्ठानको स्थापना, विद्यमान आयुर्वेदको सेवाको गुणस्तर वृद्धि गर्ने, जडीबुटी तथा खनिज द्रव्यहरूको पहिचान, उत्पादन, औषधी निर्माण र बजारीकरण जस्ता विषयमा सुझाव पेश गर्न कार्यादिश प्राप्त भएकोले सो कार्यदेशको परिधिमा रही ३ महिना लामो अध्ययन तथा छलफलको अधारमा सरकारलाई सुझाव प्रदान गरिएको कार्यदलका संयोजक कार्कीले बताउनुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवा र नवीनतम खोज अनुसन्धान गर्ने गरी आयुर्वेद विज्ञानमा दक्ष तथा सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने जिम्मेवार विभिन्न तहका जनशक्ति उत्पादन गर्न कोशी आयुर्वेद विज्ञान प्रतिष्ठानको स्थापना गर्न उपयुक्त हुने सुझाव दिएका छौं, लखनपुर प्रादेशिक आर्युवेद अस्पतालका निमित्त निर्देशक एवं कार्यदलका सदस्य सचिव डा।सिद्धार्थ ठाकुरले भन्नुभयो ।
झापा कमल गाँउपालिका लखनपुरमा २ बिघा जमिनमा स्थापना गरिएको ५० शैया क्षमताको प्रादेशिक आयुर्वेद अस्पतालको आधुनिक संरचनालाई आधार बनाएर आयुर्वेद सम्बन्धी विशेषज्ञ तालिमदेखि छोटो अवधिका तालिम कार्यक्रमहरू अहिले नै संचालन गर्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
शैक्षिक कार्यक्रमहरू संचालनका लागि कम्तिमा १५० शैया क्षमताको अस्पताल सहित ३ बिघा क्षेत्रफलमा शैक्षिक भवनहरू भएको संरचना चाहिने औल्याईएको छ । प्रतिष्ठानको दीर्घकालीन सम्भावनाहरूलाई ध्यानमा राख्दा करिब ५ विघा जमिन सहित ३०० शैया क्षमताको आधुनिक अस्पतालको आवश्यकता पर्ने र यसको सुनिश्चितता पहिलो वर्षमा नै गरिनुपर्छ, प्रतिवेदनमा भनिएको छ ।
पञ्चकर्म, योग तथा मसाज, क्षारसुत्र आयुर्वेदसँग सम्बन्धित छोटो अवधिका तालिम कार्यक्रम तत्कालै सञ्चालन गर्न सकिने सुझाव दिईएको र यो तत्कालै कार्यन्वयन गर्न सकिने कार्यदलका सदस्य डा। मिथलेशकुमार शाहले बताउनु भयो । देशमा अभाव रहेको जनशक्ति र विषय विज्ञको उपलब्धतालाई हेरेर नियमन निकायको अनुमतिमा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्न सकिने अवस्था छू, उहाँले भन्नुभयो ।
प्रतिष्ठान सञ्चालनको लागि २ सय ३२ जना शिक्षक कर्मचारीहरू आवश्यक रहको प्रतिवेदनमा रहेको छ । प्रतिवेदनमा प्रतिष्ठानको मुख्य संरक्षक मुख्यमन्त्री रहनसक्ने पनि प्रस्ताव गरिएको छ ।


















Discussion about this post