अमेरिका लैजाने प्रलोभन देखाएर दोस्रो विवाह गर्ने पक्राउ

 

सार्थक ब्यूरो । कञ्चनपुरमा अमेरिका लैजाने प्रलोभन देखाएर दोस्रो विवाह गर्ने एक जना र विवाहको चाजोपाँचो मिलाइदिने अर्का गरी २ जना पक्राउ परेका छन्।सामाजिक सञ्जाल फेसबुकबाट युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको प्रलोभन देखाएर नक्कली विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए। उनकाअनुुसार युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा पारेर ३१ वर्षीय मालीले मंसिर २३ गते महेन्द्रनगरमा विवाह गरेका थिए।
नातामा मालीका भिनाजु पर्ने धामीले उनीहरुको विवाह गराउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। तर अमेरिकाको भिजा लागेको र आफू इन्जिनियर भएको बताउँदै विवाह गरेका माली सह–चालक र घरमा श्रीमती रहेको थाहा पाएपछि पीडित युवतीका परिवारले उनीविरुद्ध बहुविवाहको मुद्दा दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरकी ३१ वर्षीया युवतीबिच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको खुलेको छ। पेशाले सह–चालक रहेका मालीले युवतीलाई प्रेम गर्ने भन्दै फकाएका थिए। युवकले आफू अविवाहित भएको बताएका थिए। करीब तीन महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न युवती तयार भएकी थिइन।
विवाह गरेर दुलहीलाई अमेरिका लैजाने बताएपछि युवतीका आमाबुवा पनि राजी भएका थिए। मंसिर २३ गते दोस्रो विवाह गरेका माली विवाहित भएको कुरा कसैले चाल पाएका थिएनन्। विवाह सकेर दुलहीलाई लिएर धनगढी आएका माली मंसिर २५ गते डडेल्धुरा जादै थिए। तर युवती पक्षले फेसबुक र टिकटकमा दुवै जनाको विवाहका भिडियो अपलोड गर्दै बधाई दिइरहेका थिए। टिकटकमा सार्वजनिक भएको भिडियो मालीकी श्रीमतीसम्म पुगेपछि वास्ताविकता बाहिर आएको हो। त्यसपछि माली र धामीविरुद्ध बहुविवाह मुद्दा दर्ता गरेर अदालतबाट दोस्रोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित