सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नरहेको भन्दै अदालतमा इन्कारी बयान दिनुभएको छ ।गत सोमबारदेखि जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा बयान लिने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीसहित रामबहादुर खनाल, कृष्णप्रसाद गुरुङ, लिला पछाई र मंगलबारमात्र कास्की प्रहरीले पक्राउ गरेपछि हिरासतमा रहेकी गण्डकीकी पूर्वसांसद मिना गुरुङको बयान लिने क्रम जारी छ ।
सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी मुद्दामा गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको थियो । सोही पत्रको आधारमा प्रतिवादीहरूमाथि सोमबारदेखि अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयानले निरन्तरता पाएको छ ।
सोमबार र मंगलबारमा जोशीको बयान सकियो भने मंगलबार नै पछाईको बयान सुरु भएको थियो । बुधबारको सार्वजनिक बिदापछि बिहिबार पछाईको बयान सकिएपछि लामिछानेको बयान सुरु भएको छ । उहाँले आफू कुनै पनि कसुरमा संलग्न नभएको इन्कारी बयान दिनुभएको छ ।
न्यायाधीश राईले लामिछानेलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा दायर उनीविरुद्धको कसुरमा केन्द्रित रहेर प्रश्न गर्नुभएको थियो ।
तर, लामिछाने भने पूर्ववत् जवाफमा नै अडिग रहनुभयो । अदालत स्रोतका अनुसार लामिछानेले सहकारीमा आफ्नो संलग्नता नरहेको र त्यसको जिम्मेवारी जीबी राई नै रहेको बताउनुभएको छ ।लामिछानेले सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा उल्लेखित अनुरूपकै बयान दिनुभएको स्रोतको दाबी छ ।
लामिछानेविरुद्ध मुद्दा दर्ता हुँदा दायर अभियोगपत्रमा उहाँले आफूले हस्ताक्षर गरेको चेकको दुरुपयोग भएको बताउनुभएको थियो । अदालतमा पनि उहाँले सोही प्रकृतिको बयान दिनुभएको हो । आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको लामछिानेले बयानकाक्रममा उल्लेख गर्नुभएको छ । सहकारीबाट गैरकानुनीरूपमा ऋण लिएको भन्ने प्रश्नलाई पनि उहाँले इन्कार गर्नुभयो ।
गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको उहाँले बताउनुभयो । । रविले सहकारीको एक रुपैयाँ रकम पनि आफू नखाएको दोहोर्याएउनुभएको थियो । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर भएको छ । लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।सम्पत्ति शुद्धीकरणको कसुरमा झन्डै २८ करोड बिगो कायम गरिएको छ ।


















Discussion about this post