पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

सार्थक ब्यूरो । पोखरामा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित यही शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा हुँदैछ । बिहीबार पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई गत वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकामा सन् २०२५ भरी स्वदेश तथा विदेशी गरी २० लाख पर्यटक भित्राउनले लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गर्न लागिएको जानकारी दिए ।
पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार हुने समारोहमा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा भ्रमण वर्ष घोषणा गर्ने तयारी छ ।
भ्रमण वर्ष घोषणाको पूर्वसन्ध्यामा पोखराका ३३ वटै वडाहरूबाट पहिचानसहितका झाँकी ¥याली पोखरा प्रदर्शनी केन्द्रसम्म गरिने बताइएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई गत वर्ष ४ चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो । भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । जसमा १९ सदस्यीय समिति गठन गरिएको छ ।
यस्तै, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन् ।
भ्रमण वर्षको अवधिभर पोखरा महानगरपालिकातर्फबाट विभिन्न किसिमका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरू गरिने छन् ।
कार्यसम्पादन समिति संयोजकमा नियुक्त भएका भट्टराई पोखरा पर्यटन परिषद् तथा रेवान पोखराका पूर्व अध्यक्ष हुन् । उनले पर्यटन क्षेत्रमा लामो समयको अनुभव संगालेका छन् ।
यस्तै, समितिको सहसंयोजक दामोदरभक्त थापा नियुक्त भए । उनी पनि पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।
सन् २०२५ लाई चीन सरकारले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष–२०२५ घोषणा गरिसकेको छ भने भारत सरकारले वेलनेस पर्यटकलाई नेपाल महत्वपूर्ण गन्तव्य भनी सूचीकरण गरिसकेकेको छ । हालसम्म यकिन तथ्यांक नभए पनि काठमाडौं घुम्ने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा आउने अनुमान छ ।
पोखरा महानगरपालिकाले हालसम्म विभिन्न राष्ट्रका १४ सहरमा भगिनी सम्बन्ध कायम राखेको छ । भ्रमण वर्ष अवसरमा थप सहरसँग भगिनी सम्बन्ध जोडिने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित