मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउने सहमति

सार्थक ब्यूरो । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको छ ।गृहमन्त्री रमेश लेखकको पहलमा आज गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको हो ।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा जग्गा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाउने विषयमा सहमति भएपछि लामो समयदेखि रोकिएको विमानस्थल निर्माणको काम अघि बढाउने विषयमा सहमति जुटेको हो ।
विसं २०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । हाल विमानस्थलको एक हजार तीन सय मिटर रन्वे कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण कार्य प्रभावित हुँदैआएको थियो ।
आजको बैठकमा सहभागी सबै निकाय सम्मिलित टोली महेन्द्रनगर पठाउने तथा रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमती भएको गृहमन्त्री लेखकले जानकारी दिए । यसअघि पनि वेग्लावेग्लै चरणमा सहमति र निकासका लागि छलफल भएको थियो, उनले भने, आजको सहमतिले विमानस्थल निर्माणको काम अघि बढ्ने निश्चित भएको छ ।
विमानस्थल निर्माणका क्रममा वन क्षेत्रमा पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्याङ्कन पनि गर्दै जाने विषयमा सहमती भएको छ । ुविमानस्थलका लागि आवश्यक सेनाको जग्गा (फुटबल मैदान र आवास भएको स्थान) मा सेनाले सहमति जनाएकाले तत्काल काम अघि बढ्ने भएको छ, गृहमन्त्री लेखकले भने ।
बैठकमा प्रधानसेनापति सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमति नरहेको, सो क्रममा मिचिने फुटबल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने तथा आवास निर्माणमा जोड दिएका थिए । सेनाको मागका विषयमा सम्वद्ध मन्त्रालयका मन्त्री र पदाधिकारी सैनिक संरचना र फुटबल मैदानका विषयमा सकरात्मक रहेका बताएका थिए ।
मझगाउँ विमानस्थल निर्माणबारे गृहमन्त्री लेखकले लामो समयदेखि सहजीकरण गर्दै आएका छन् । भीमदत्त नगरपालिकाको १५, दोधारा–चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लगानीमा उक्त विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित