केयूको उपकुलपति सिफारिस गर्न प्राध्यापक संघले चरणबद्ध आन्दोलनको घोषणा

 

सार्थक ब्यूरो । उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै काठमाडौं विश्वविद्यालय (केयू) को प्राध्यापक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।तीन दिनभित्र नाम सिफारिस गर्न अल्टिमेटम दिएको संघले सो समयसम्म नाम सिफारिस नभएपछि आन्दोलनको घोषणा गरेको हो । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा। विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले जारी गरेको संयुक्त विज्ञप्तिमा पहिलो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाब कार्यक्रमसहित आन्दोलन घोषणा गरेको उल्लेख छ ।
यदी सात दिने अवधिमा पनि विश्वविद्यालयको नयाँ उपकुलपति खोज तथा सिफारिस समितिबाट छनोट प्रक्रिया टुंगोमा नपुगेमा तत्काल आवश्यक पहल गरी उपयुक्त निर्णय लिन कुलपति एवम् प्रधानमन्त्री तथा सहकुलपति एवं शिक्षा मन्त्रीलाई प्राध्यापक संघले अपिल गरेको छ ।
त्यसपछि पनि उपकुलपति नियुक्त नभएमा अर्को चरणको दबाबमुलक आन्दोलन घोषणा गर्न बाध्य हुने प्राध्यापक संघले जनाएको छ । छनोटको प्रक्रिया सकिएर पनि सिफारिस समितिले नाम सिफारिस गरेको छैन । गत फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिएका २० मध्य सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो ।
त्यसपछि नाम सिफारिस गर्नुपर्ने हो । तर समितिका सदस्यहरूबीच कसकसको नाम सिफारिस गर्ने भन्नेमा मत मिल्न सकेको छैन । समितिमा केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा संयोजक, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित