योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग

सार्थक ब्यूरो । राष्ट्रगुरु योगी नरहरिनाथको १११औं जन्मजयन्ती काठमाडौंमा मनाइएको छ। आइतबार काठमाडौं मखनकी जीवितदेवी ‘मखँ तारिणी कुमारी माजु’को सान्निध्यमा राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती मनाइएको हो।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश तथा हिन्दू राष्ट्रिय स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा योगी नरहरिनाथको जीवन र योगदानको बारेमा चर्चा गरिएको थियो।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रगुरु योगी नरहरिनाथ सिद्ध पुरुष, कर्मयोगी, महात्मा, राष्ट्रभक्त भएकोमा जोड दिँदै उनको जीवनबाट सिकेर एकजुट भई अगाडि बढ्न सके नेपाल अझै हिन्दू राष्ट्र बन्ने दिन धेरै टाढा नरहेको बताए। योगीनरहरिनाथका योगदानको कदर गर्दै योगीको प्रेरक विचार र दर्शन नेपाली जनजनमा पुर्‍याउन राष्ट्रिय विभूति घोषणा गरेर योगीको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा नन्द बहादुर सिंहले नेपालको पुनर्जागरणका महान् अभियन्ता नरहरिनाथलाई नेपालले चिन्न नसकेकोमा दुःख व्यक्त गर्दै योगीजीको सम्मान गर्न नेपालको १९ औं राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरे। सिंहले मौलिक धर्म संस्कृतिको रक्षाका लागि नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बताए।
राजनीतिक विश्लेषक तथा हिन्दू राष्ट्रिय स्वाभिमान जागरण अभियानका महासचिव, देवेश झाले धर्मनिरपेक्ष शब्द आफैंमा गलत भएको बताउँदै नेपालमा धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन भइरहेको बताए। नेपालमा सुरुमा हिन्दूलाई बौद्ध बनाउने र पछि बौद्ध बनाइएकालाई फेरी इसाई बनाउने षडयन्त्र भइरहेकाले यसको ज्वलन्त उदाहरण चेपाङ र थारू समुदाय देखिएको बताए।
बदरीनाथ नारायण धाम तथा शान्ति धामका पिठाधीश स्वामी चतुर्भुजाचार्य चुडामणिले योगी नरहरिनाथको दर्शन र योगदानको बाटोमा हिँड्दा नेपाल छिटै हिन्दू राष्ट्र बन्ने बताए। सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले योगीलाई लामो समयसम्म सरकार र देशले चिन्न नसके पनि अब योगीको योगदानको खोजी हुन थालेकोमा खुसी व्यक्त गरे। योगी नरहरिनाथबाट प्रेरणा लिएर नेपालको मौलिक धर्म संस्कृतिको रक्षा गर्न एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए। भण्डारी राष्ट्रगुरु योगी नरहरिनाथको १११ औं जन्मजयन्ती समारोहका कार्यक्रम संयोजक थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित