सार्थक ब्यूरो । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन।ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो। सरकारले ट्रमा सेन्टर स्थापनाका लागि विगत चार वर्षदेखि विनियोजन गर्दै आएको बजेट फ्रिज भएर जाने गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ।
सरकारले ट्रमा सेन्टर स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरे पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका सूचना अधिकारी तथा इन्जिनियर पुष्पराज भट्टले बताए। उनले ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि गत आर्थिक वर्ष २०८०र८१ मा बहुवर्षीय योजनाअन्तर्गत पाँच करोड बजेट बजेट विनियोजन गरिएको थियो। साथै आर्थिक वर्ष २०७८/७९ मा पाँच करोड विनियोजन गरिएको थियो।
आर्थिक वर्ष २०७९/८० मा कैलालीको लम्की सम्भाव्यता अध्ययन गरी ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन भएको थियो। कार्यालयका सूचना अधिकारी भट्टले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्रह गर्दै आएको पनि बताए।
पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा सवारी दुर्घटना बढी हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने भएकाले ट्रमा सेन्टर निर्माणको अवधारणा सुरु भएको थियो।
हाल सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता छ।
















Discussion about this post