रुपन्देहीमा प्रधानमन्त्री कप सुरु

सार्थक ब्यूरो । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही र दाङमा सुरू भएको प्रतियोगिता रुपन्देहीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे भने दाङमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो ।
यो पटक सबै खेल रुपन्देही र दाङमा हुन लागेका हुन् । उद्योगमन्त्री भण्डारीले प्रत्येक पालिकामा खेलमैदान निर्माण सरकारको प्राथमिकता रहेको बताए ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै मन्त्री भण्डारीले प्रदेश स्तरमा खेल पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गरे। उनले एक पालिका, एक खेलमैदान निर्माण सरकारको लक्ष्य रहेको बताए ।
सिद्धार्थ क्रिकेट रंगशालाले चुनौतीका बाबजुद अन्तर्राष्ट्रिय स्तरको छवि बनाएको उल्लेख गर्दै उनले सरकार खेल पूर्वाधारको स्तर वृद्धिमा लागेको बताए । उनले एनपीएलले खेलाडीहरूलाई ऊर्जा प्रदान गरेको र प्रधानमन्त्री कपले नेपाली क्रिकेटको मनोबल बढाउने विश्वास व्यक्त गरे।
यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरे । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरे भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरे ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ ।देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित