सार्थक ब्यूरो। तीनकुने घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनामा तत्कालीन राजा शाहले पनि उन्मुक्ति नपाउने बताएका हुन् ।
प्रधानमन्त्रीले प्रारम्भिक अध्ययनमा चैत १५ गते भएका सबै घटनाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लङ्घन गरेको भन्दै नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनकी आमालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको बताए ।
‘हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद÷व्यवस्थापन गर्नु भएको थियो’, प्रधानमन्त्रीले भने,
‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न ।’
उनले ज्ञानेन्द्रले फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन रु भनेर प्रश्न समेत गरे ।
‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट–– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ रु’, प्रधानमन्त्रीको प्रश्न छ ।
प्रधानमन्त्रीले सबै घटनाको मूल जिम्मेवार ज्ञानेन्द्र नै भएको र जिम्मा समेत लिनुपर्ने बताए ।
‘गत चैत १५ गते २ वटा राजनीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध– आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरूलाई सचेत गराएको थियो’, प्रधानमन्त्रीले सुनाए ।प्रधानमन्त्रीले सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौँको प्रदर्शनी मार्गमा भव्य सभा गरेर आफ्नो धारणा सार्वजनिक गरेको बताए । मोर्चाको कार्यक्रम शालीन जुलुस सहित भएको भन्दै प्रधानमन्त्रीले त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गरे । ‘हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु’, प्रधानमन्त्रीको भनाइ छ ।
उनले भने, ‘काठमाडौँको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशङ्काका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।’तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा नगरेको र उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थालेको बताए ।
‘सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमान्डर” आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात सुरु गरियो’, प्रधानमन्त्रीको भनाइ छ ।
हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरिएको भन्दै प्रधानमन्त्रीले निजी व्यक्तिको घरमा आगजनी मात्रै नगरेर मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भएको बताए ।
‘अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो’, प्रधानमन्त्रीले भने, ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुने छ । ’
घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसका योजनाकार को हुन् र को को संलग्न छन् रु सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको बताए ।
प्रधानमन्त्रीले तीनकुने घटनाको पृष्ठभूमिमा करिब १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको भन्दै सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील भएको र मौका खोजिरहेको बताए ।
‘ धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदना माथि खेल्ने र बैङ्क वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्त्व सक्रिय थियो’, प्रधानमन्त्रीले भने, ‘यसैबिच तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँ ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमान्डर” तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो ।’


















Discussion about this post