बालेनसहित ४ हजारभन्दा बढीले चैतसम्मको एकमुष्ट रकम बुझ्दै

सार्थक ब्युरो । काठमाडौं महानगरपालिकाले लामो समयदेखि रोकिएको तलब एकमुष्ट रुपमा वितरण गर्न थालेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पुनः कार्यभार सम्हालेसँगै तलब निकासा प्रक्रिया सुरु गरिएको हो।
प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक, कर्मचारी र जनप्रतिनिधिको तलब रोकिएको थियो। तीमध्ये शिक्षकहरूले पाँच महिनाको र कर्मचारीहरूले तीन महिनाको ९चैतसम्म० तलब पाउन बाँकी थियो।
प्रशासकीय अधिकृत गुरागाईंले विगत बिहीबार कार्यभार सम्हालेपछि तलब निकासालाई पहिलो प्राथमिकतामा राख्नुभएको थियो। सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले रोकिएको तलब आज बाट वितरण सुरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार आजै आधाभन्दा बढी कर्मचारीको तलब निकासा भइसकेको छ।
‘ठूलो संख्यामा कर्मचारी छन्। हामीले पठाइसकेपछि बैंकले खातामा ट्रान्सफर गर्न केही समय लिन्छ। आजबाट प्रक्रिया सुरु भएको हो, यो हप्ताभित्र सबैको तलब पठाइनेछ,’ काफ्लेले भन्नुभयो।
महानगरमा स्थायी, करार, दोहोरो हाजिर र ज्यालादारीसहित करिब ४ हजार जनशक्ति कार्यरत छन्। तीमध्ये १७ सयभन्दा बढी शिक्षक छन्। सबैलाई चैतसम्मको तलब निकासा गरिने जनाइएको छ।
प्रत्येक महिना तलब वितरणमा साढे १२ करोड रुपैयाँ खर्च गर्ने महानगरले यसपटक चैतसम्मको एकमुष्ट तलब खुवाउन करिब ४० करोड रुपैयाँ खर्च भएको जनाएको छ। तलब वितरणका लागि महानगरले एनआइसी बैंक र नेपाल बैंकमार्फत खातामा रकम पठाउने व्यवस्था गरेको छ।
स्रोतका अनुसार प्रमुख बालेन्द्र साहसहित अन्य जनप्रतिनिधिकोसमेत माघदेखि रोकिएको तलब हालै निकासा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित