सार्थक ब्यूरो । हुम्लामा बिहीबार बिहानको वर्षापछि बाढीपहिरोले क्षति पुर्याएको छ । अदानचुली गाउँपालिका वडा नम्बर २ र ३ मा वर्षाले क्षति गरेको हुम्लामा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
कान्तिपुरसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, आज बिहान अदानचुली-२ र ३ मा अलि ठूलै पानी पर्यो । केही घरहरूमा पनि क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी आएको छ । क्षतिको विवरण संकलनको काम भइरहेको छ ।
पाण्डेयका अनुसार वडा नम्बर २ र ३ को बीचमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा समेत पानीले क्षति पुगेको छ । उनका अनुसार गोदाममा रहेको चामल सुरक्षित स्थानमा सारिए पनि तल्लो लहरमा रहेका चामलका बोरा भने भिजेका छन् ।
गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहका गाउँपालिका कार्यालयसमेत पहिरोको जोखिममा परेको छ । उनले भने, करिब १०० वटा जति भेडाबाख्रा मरेको भन्ने छ । त्यस्तै केही घरहरू बस्नै नमिल्ने गरी भत्किएका छन् । पसलहरूमा समेत क्षति पुगेको छ । उनका अनुसार बिहान केहीबेर भारी वर्षा भए पनि अहिले कम हुँदै गएको छ ।
वडा नम्बर २ का अध्यक्ष नन्द महताराका अनुसार वर्षाले फडेरा र भण्डारी गाउँमा क्षति पुगेको छ । केही घर र गोठहरूमा क्षति पुग्नुका साथै भेडाबाख्रा पनि मरेको उनले बताए ।


















Discussion about this post