राप्रपाको कडा उर्दी : कुनै अभियान वा समूहमा सक्रिय भए नेताको पद स्वतस् खारेज

सार्थक ब्यूरो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रवादी विचार भएका दल, अभियान र समूहहरूले गर्ने कार्यक्रमलाई पार्टीले समर्थन गर्ने भए पनि ती अभियान वा समूहको कार्यसमितिमा रहेर काम गर्ने व्यक्तिको पद स्वतस् खारेज हुने निर्णय गरेको छ।पार्टीको हालैको निर्णयलाई लिएर कतिपय नेताहरूले आलोचना गरेका छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’मा सक्रिय थिए। मिश्र सो समितिका सदस्य सचिव र राणा आन्दोलन परिचालन समितिका प्रमुख थिए।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकपछि जारी विज्ञप्तिको बुँदा १ (छ) मा उल्लेख छ—‘राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल, अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यसपूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने।’
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, यस्तो निर्णय पहिल्यै गरिसकेको भए पनि सबै तहका कार्यसमितिमा पुनः जानकारी गराउने उद्देश्यले बैठकले निर्णयलाई औपचारिक रूपमा दोहोर्याएको हो।
सुवेदी नेतृत्वको समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्देशक समितिका सदस्य भए पनि उनले समितिको कुनै कार्यक्रममा सहभागिता जनाएका छैनन्। सुवेदीले आफूलाई घरमै नजरबन्दमा राखिएको भन्दै जगमान गुरुङलाई कार्यवाहक अध्यक्ष तोकेका थिए। गुरुङको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको प्रतिबद्धता सभा भए पनि लिङ्देन सहभागी भएका थिएनन्।
राप्रपाले पार्टीकै नेतृत्वमा राजसंस्था पुनर्स्थापना र संघीयता खारेजका एजेन्डासहित आन्दोलन अघि बढाउने निर्णय गरिसकेको छ। चैत २६ गते बल्खुमा खबरदारी सभा सम्पन्न भइसकेको छ भने वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने कार्यक्रम तय गरिएको छ।
यसअघि, चैत १५ गते ‘संयुक्त जनआन्दोलन समिति’ को आयोजनामा तीनकुनेमा प्रदर्शन भएको थियो। दुर्गा प्रसाईंको नेतृत्वमा आह्वान गरिएको सो प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भयो। सो क्रममा सरकारी गाडी, पार्टी कार्यालय, निजी घर र जडिबुटी प्रशोधन केन्द्रमा तोडफोड तथा आगजनी भएको थियो।

Categories Long - 2
त्यस घटनापछि समिति सदस्य सचिव रवीन्द्र मिश्र र आन्दोलन परिचालन समितिका प्रमुख धवल शम्शेर राणालाई प्रहरीले पक्राउ गरी अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।
राप्रपाले प्रहरी हिरासतमा रहेका आफ्ना नेता–कार्यकर्ताहरूको रिहाइका लागि कानुनी र राजनीतिक लडाइँ जारी राख्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार, ‘पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवल शम्शेर राणा लगायत प्रहरी हिरासतमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताको निःशर्त रिहाइको माग गर्दै, चैत्र १५ गते तीनकुनेमा राज्यपक्षबाट भएको दमनको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न दबाब दिन वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गरिनेछ।’
राप्रपाले संवैधानिक राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका मुद्दामा सहमतिका लागि विभिन्न पक्षहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ।
आन्दोलन सम्बन्धी आवश्यक योजना बनाउने र तत्कालीन निर्णय लिन अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू र उपाध्यक्षहरू समावेश रहने समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको छ।पार्टीका एक पदाधिकारीका अनुसार, अबको आन्दोलन काठमाडौं उपत्यका केन्द्रित हुने भएकाले अन्य समूह वा अभियानमा संलग्न कुनै पनि नेताविरुद्ध आवश्यक प्रक्रिया अघि बढाइनेछ।
‘राप्रपाको कुनै पनि पदमा रहेको नेता कुनै समूह वा अभियानको कार्यसमितिमा बसेर काम गरिरहेको पाइएमा स्वतस् पद खारेज हुनेछ,’ ती पदाधिकारीले बताए,‘वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणाले पार्टीलाई जानकारी नदिई अभियानमा जिम्मेवारी लिएको पाइएकाले भविष्यमा यसबारे सोधपुछ गरेर प्रक्रिया अघि बढाइनेछ। तर हाल उनीहरू हिरासतमा भएकाले प्राथमिकता रिहाइमा केन्द्रित गरिएको छ।’
उनले थपे, ‘विभिन्न नाममा खोलिने अभियान वा समूहमा पार्टीका जिम्मेवार नेताहरू सक्रिय हुँदा पार्टीको छवि र नीतिमा क्षति पुग्न सक्छ भन्ने बुझेर सचेत रहन तथा यस्ता गतिविधिमा सहभागी नहुन अपिल गर्न यो निर्णय आवश्यक थियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित