भीमदत्तमा अर्ध नग्न जुलुश र धर्ना

सार्थक ब्यूरो । भीमदत्त नगरपालिकाले डोजर लगाएर टहरा भत्काएपछि आन्दोलित वादी समुदायका महिलाले अर्ध नग्न जुलुश प्रदर्शन गरेका छन् । भीमदत्त नगरपालिकाकाको प्रवेशद्वारमा धर्ना बस्दै आएका उनीहरुले आफ्ना मागलाई सुनुवाई नगरी वेवास्ता गरेको भन्दै अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।
प्रवेशद्वारमा धर्ना बसेका उनीहरु अर्ध नग्न भएर नगरपालिका कार्यालयको प्रवेशद्वारसम्म अर्धनग्न जुलुश निकालेका छन् । जुलुश प्रदर्शनपछि उनीहरु कार्यालय प्रवेशद्वारमा धर्ना बसेका छन् । बालबालिका सहित धर्ना बसेका उनीहरु सबै अर्धनग्न अवस्थामा छन् ।
नगर विकास पीडित वादी अधिकार संघर्ष समितिकी संयोजक वसन्ती वादीले भीमदत्तले आफूहरुका मागमा सुनुवाई नगरेपछि बाध्य भएर अर्धनग्न हुनु पर्ने अवस्थामा आएको बताइन् ।
‘हाम्रा टहरा भत्काएर बिचल्लीमा पारेपछि हामी सोही स्थानमा व्यवस्थापनको माग गर्दै आन्दोलनमा छौ, भीमदत्तले अहिलेसम्म कुनै मतलब गरेको छैन’ उनले भनिन्,‘केही मतलब नगरेपछि हामीहरु अर्धनग्न भएर बस्नु पर्ने अवस्था आयो, यो देखेर त अलिकति त लाज लाग्ला ।
भीमदत्त नगरपालिकाले चैत २१ गते नगर प्रहरी लगाएर होटेल ओपेरा नजिक बस्दै आएका वादी समुदायका घर घर टहरा डोजर लगाएर भत्काएको थियो । घरमा टहरामा कोही नभएका बेला भत्काएकाले उनीहरुका लत्ता कपडा, खाद्यान्न र भाँडाकुँडा सबै गुमाएका छन् ।
टहरा भत्काएपछि वादी समुदाय संघर्ष समिति बनाएर अनिश्चितकालित धर्नामा बसेका छन् । आइतबार उनीहरु धर्ना बसेको २५ दिन पुगेको छ । अहिलेसम्म उनीहरुका मागप्रति भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी लगायत उदासिनता देखाएका छन् ।
तीन सातासम्म आफूहरुका मागको वेवास्ता गरिएपछि उनीहरु अर्धनग्न भएर प्रदर्शनमा उत्रिएका छन् ।
अर्धनग्न प्रदर्शनपछि भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले वादी समुदायका अगुवासित छलफल गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको छलफलमा वादी समुदायका अगुवा शिवीराज रानाले भीमदत्तले डोजर लगाएर हटाएका वादी समुदायका नाममा देशभर कुनै पनि ठाउँमा टहरा बनाउने जमिन नभएको र बजार क्षेत्रमा भाडामा कोठा पाउन सक्ने अवस्था नभएकाले अर्को व्यवस्था नभएसम्म व्यवस्थापन गर्न पर्ने माग गरे ।
‘हामीसित कुनै पनि ठाउँमा जमिन छैन, देशभर हेर्दा हुन्छ, एकातिर यस्तो छ, अर्कोतिर भाडामा कोठा पनि पाउँदैन’ उनले भने,‘वादी समुदायका अरु भन्दा फरक भएकाले नगरपालिकाले यस्तो व्यवहार देखाउनु हुन्न, जसरी पनि व्यवस्थापन गरिनु पर्छ
रानाले भीमदत्त नगरपालिकाले भाडाका लागि कोठा खोजी गरि दिए पनि आफूहरु बस्न तयार भएको बताए । प्रमुख प्रशासकीय अधिकृत बमले भीमदत्तका मेयर आएपछि कुराकानी गरी समस्या समाधान गरिने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित