ठेकेदारको लाप्रवाहीका विरुद्ध बेलौरीका स्थानीय आन्दोलित, सडक अवरुद्ध

सार्थक ब्यूरो । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका विरुद्ध आन्दोलित भएका छन् । आज सोमवार दिउँसो उनीहरुले कलकत्ता र रतनपुरबीचको पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै आक्रोश पोखेका हुन् ।
२०७३ सालदेखि निर्माण थालिएको हुलाकी सडकको काम अझै अलपत्र छ । जिम्मा पाएको सिद्धिशाही–बाबाहंश जेभीले पटक–पटक समय थपेर समेत काम सम्पन्न नगरेपछि स्थानीयको धैर्य टुटेको हो ।
“काम गर्दैन, बिल उठाउँछ,“ आक्रोशित स्थानीयहरू भन्छन्, “दुई–चार दिन देखाउन काम गर्छ, फेरि हराउँछ । अब त आन्दोलनबाहेक विकल्प छैन ।“
६२ किलोमिटर लम्बाइको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडक तीन खण्डमा विभाजन गरिएको छ । बेलौरीदेखि बेलडाँडीको २० किलोमिटर र बेलडाँडी–दैजीको २२ किलोमिटर खण्डमा करिब आठ पटक समय सिमा थपिएको भए पनि कामले गति लिएको छैन सडकको हालको अवस्था दयनीय छ। गाडी गुड्दा उड्ने धुलोले वरपरका घर सेताम्य छन्, पानी पर्दा सडक हिलोले पोखिन्छ । “गर्भवती महिला, बिरामी बोक्न हिलाम्मे सडकमा गाडी लैजान सकस छ,“ स्थानीय बताउँछन् ।
४१ करोड ४१ लाख रुपैयाँ लागतमा ३० महिनामा सक्नुपर्ने काम ९ वर्षमा पनि ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । बेलडाँडी–दैजी खण्डमा शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको २२ किलोमिटर सडक पनि ८० प्रतिशतमा मात्र पुगेको छ ।“भुक्तानी चाहिँ बेलैमा, कामचाहिँ ढिलो,“ आन्दोलनमा उत्रेका स्थानीयको आरोप छ, “अब सरकारले ठेकेदारलाई कारबाही नगरे हामी अझ उग्र आन्दोलनमा जान्छौँ ।“ सडक निर्माणमा देखिएको चरम लापरवाहीले सरकार र आयोजनाको प्रभावकारी अनुगमन प्रणालीमाथि पनि प्रश्न उठेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित