सार्थक ब्यूरो । वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ ।बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि अन्तर बैंक दर नबढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणसमेत प्रयोग गर्नु परिरहेको छ ।
यसै साता आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको छ । एक सातामा ७५ अर्बको निक्षेप संकलन आह्वान गर्दा पनि अन्तर बैंक दर भने ब्याजदर करिडोरको तल्लो सीमाको दर भन्दा तल छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा अन्तर बैंक दर घट्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता छ । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरमा पनि कर्जा लगानी बढाउन नसक्दा प्रणालीमा अधिक तरलताको समस्या कायम छ ।
बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह भन्दा पनि पुराना कर्जा असुलीमा व्यस्त भएसँगै वित्तीय प्रणालीको निक्षेप केन्द्रीय बैंकमा थुप्रिएको हो । बुधबारसम्ममा वित्तीय प्रणालीको ३ खर्ब ३५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा छ। यो पैसा स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले खिचेको हो । मंगलबार वित्तीय प्रणालीको कुल तरलता ७९ अर्ब छ ।
आर्थिक गतिविधिमा पनि अपेक्षा अनुसारको सुधार आउन नसक्दा कर्जाको माग समेत बढ्न नसक्दा अधिक तरलताको समस्या आएको पुर्व बैंकर शोभनदेव पन्तले बताए । ‘रेमिट्यान्स आप्रवाह बढेकाले वित्तीय प्राणालीमा निक्षेप बढेको छ,’ उनले भने, ‘कर्जाको माग छैन।’ अर्थतन्त्रमा देखिने समान्य परिवर्तनले पनि वित्तीय प्रणालीको तरलता तथा ब्याजदरमा परिवर्तन हुने भएकाले ब्याजदर करिडोर भित्र ब्याजदर राख्न केन्द्रीय बैंकले वित्तीय औजारहरू प्रयोग गर्छ ।-अनलाईनखबरबाट


















Discussion about this post