सार्थक ब्यूरो । भीमदत्त नगरपालिकाले चार महिना अघि माघ ६ गते गते बाल विकास सहयोगी कार्यकर्ता जानकीदेबी पाण्डेय र तारादेबी भट्टलाई महेश्वर माध्यमिक विद्यालय सुकासाल सरुवा गरेको थियो ।
पाण्डेयलाई शान्ति निकेतन मावि र भट्टलाई कालिका आधारभूत विद्यालयबाट महेश्वर माविमा सरुवा गरिएको हो ।
पाण्डेय र भट्टमध्ये भट्ट नगरपालिकाको सरुवा निर्णय अनुसार महेश्वर माविमा हाजिर भइन् ।
पाण्डेयले सरुवा निर्णय मान्न अस्वीकार गरिन् । नगरपालिकाले उनको सरुवा निर्णय बदर गरी शान्ति निकेतनमै थमौती गरि दियो । पाण्डेयको सरुवामा उनी सिनियर भएकाले सरुवा बदर गर्न नगरपालिकालाई चर्को दबाव आएको स्रोतको भनाई छ ।
पाण्डेय अहिले शान्ति निकेतनमै पढाई रहेकी छन् । उनको निर्णय बदर गरी नगरपालिकाले शान्ति निकेतनकै नरेन्द्री भट्टलाई फागुन ६ गते महेश्वर सरुवा गर्ने निर्णय गर्यो । भट्ट पनि सरुवा गरिएको तीन महिनासम्म महेश्वर मावि हाजिर भएकी छैनन् । महेश्वर मावि भट्ट विद्यालय हाजिर हुन आउने दिनको आशमा छ ।
शान्ति निकेतनमै पढाई रहेकी भट्टको तीन महिनाको तलब भने महेश्वर माविमा पुगि सकेको छ । महेश्वर माविले सरुवा निर्णय अनुसार शिक्षकलाई विद्यालयमा हाजिर गराउन नगरपालिका धाउँदै आएको छ ।
महेश्वर माविका प्रधानाध्यापक जनकराज जोशीले नगरपालिकाको निर्णय अनुसार सरुवा गरिएका दुई शिक्षकमध्ये हालसम्म एक जना मात्रै विद्यालयमा हाजिर भएको बताए ।
‘हामीलाई यस वर्ष नगरपालिकाबाट बाल विकासमा थप दुई कोटा दिइएको थियो, त्यस अनुसार दुई जना सरुवा गरिएको छ, वहाँहरु दुई जनामध्ये एक जना अहिलेसम्म हाजिर भएका छैनन्’ प्रधानाध्यापक जोशीले भने,‘वहाँको तीन महिनाको तलब भने हाम्रो खातामा आइ सकेको छ, शिक्षक आएका छैनन् ।’
बाल विकास सहयोगी कार्यकर्ताले मासिक १० हजार तलब पाउँछन् । त्यस अनुसार तीन महिनाको तलब विद्यालयको खातामा पठाईएको छ ।
महेश्वर माविमा एक सय ११ विद्यार्थी बाल विकासमा अध्ययनरत छन् । उनीहरुलाई नर्सरी, एलकेजी र युकेजीमा राखेर पठनपाठन गराई रहेको प्रधानाध्यापक जोशीले बताए ।
विद्यालयमा यस अघि बाल विकासका दुई दरबन्दी थिए । विद्यार्थी बढी भएपछि दरबन्दी थप्न विद्यालयले गत वर्षदेखि नगरपालिकातिस माग गर्दै आएको थियो । त्यसपछि नगरपालिकाले दुई दरबन्दी थप गरी सरुवा गरेको हो ।
विद्यार्थी संख्या बढी भएर पठनपाठन गराउन समस्या आएपछि नगरपालिकालाई दरबन्दी थपका लागि पटक पटक माग गरिएको प्रधानाध्यापक जोशीले बताए ।
‘दुई जनाले एक सय भन्दा बढी विद्यार्थीलाई पढाउन सक्ने अवस्था थिएन, त्यस कारण कोटा थपका लागि पटक पटक आग्रह गरेका थियौ’ उनले भने ।
विद्यार्थी संख्या बढी भएकाले हालसम्म प्राथमिक तहका शिक्षकलाई जिम्मेवारी दिएर पठनपाठन हुँदै आएको उनले बताए ।
‘अहिले त प्राथमिक तहका शिक्षक पनि बाल विकासमा पढाउँदा आफूहरुलाई लोड भएको गुनासो गर्न थालेका छन््’ उनले भने ।
नरपालिकाको सरुवा निर्णय अनुसार हाजिर नभएकाले प्राथमिक तहका शिक्षकलाई जिम्मेवारी दिनु पर्ने बाध्यतामा अवस्था भएको प्रधानाध्यापक जोशीले बताए ।
विद्यालयमा सरुवा गरिएका शिक्षकलाई विद्यालय हाजिर गराउन विद्यालय नगरपालिका धाइ रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द थापाले बताए ।
‘सरुवा गरिएका शिक्षकलाई विद्यालयमा हाजिर गराई दिन भनेर नगरपालिका शिक्षा शाखा धाएका छौ, अध्यक्ष थापाले भने, ‘एक दिन बिराएर त्यहाँ पुगेका छौ, छाडेका छैनौ ।’
विद्यालयले भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीलाई सरुवा निर्णय अनुसार शिक्षक पठाई दिन आग्रह गरी चिठी पठाएको छ ।
मेयर बोगटी भीमदत्तको नगर शिक्षा समितिको अध्यक्ष हुन् । शिक्षा समितिले निर्णय गरी बाल विकास सहयोगी कार्यकर्ताको सरुवा गरेको थियो ।
नगरपालिका कार्यालय आएर विद्यालयले उप मेयर निलम लेखक जोशी मार्फत मेयर बोगटीलाई चिठी पठाएको हो । मेयर बोगटी कार्यालय बाहिर भएपछि उप मेयरलाई चिठी बुझाइएको थियो
‘उप मेयर सापले यो चिठी मेयर सापलाई बुझाई दिउँला भन्ने जवाफ दिएको थियो’ विद्यालयका अध्यक्ष थापाले भने,‘अहिलेसम्म केही भएको छैन, चिठी मेयर सापसम्म पुग्यो कि पुगेन केही थाह छैन ।’
यस अघि विद्यालयको चार कोठे भवन निर्माण शिलान्यास कार्यक्रममा सहभागी मेयर र उप मेयर दुबैलाई विद्यालयले शिक्षक हाजिरका लागि आग्रह गरेका थिए ।
शान्ति निकेतनबाट सरुवा गरिएकी भट्ट विद्यालयमा हाजिर हुन नसकेको कारण विद्यालयलाई जानकारी नभएको अध्यक्ष थापाले बताए ।
भीमदत्तको नगर शिक्षा समितिले यस यस वर्ष बाल विकासमा नयाँ मापदण्ड बनाएको छ । त्यस अनुसार १५ जना बाल बालिका बराबर एक जना सहयोगी कार्यकर्ता चाहिने मापदण्ड बनाएको छ । नगर शिक्षा समितिको मापदण्ड अनुसार महेश्वरमा बाल विकासमा ६ जनाको दरबन्दी हुनेछ ।
‘नगर शिक्षा समितिको मापदण्ड अनुसार विद्यालयमा ६ दरबन्दी हुनु पर्ने हो, हाम्रोमा विद्यार्थी संख्या बढी नै थियो, त्यस अनुसार चार थप्नु पर्ने हो’ प्रधानाध्यापक जोशीले भने,‘दुई मात्रै थप्यो, त्यसमा पनि एक जना अहिलेसम्म आएका नै छैनन् ।’
विद्यालयका प्रधानाध्यापक जोशीले विद्यार्थी संख्याको आधारमा आफूहरुले शिक्षक खोजेको बताए ।
‘विद्यार्थी संख्याको आधारमा शिक्षक चाहियो, त्यसमा खटाईएको शिक्षक विद्यालयमा आई दिनु पर्यो’ प्रधानाध्यापक जोशीले भने ।
















Discussion about this post