सार्थक ब्यूरो ।निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले पोषण झोलाको ठेक्कामा अनियमितताको प्रयास गरेको भेटिएको छ । लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने उद्देश्यले पोषण झोला (सप्लिमेन्टरी न्यूट्रिसन फूड)को टेण्डर आह्वान गर्दा बदनियतपूर्ण ढंगले निश्चित व्यापारिक घरानाले पाउने गरी गडबडी गरेको देखिएको हो ।
केन्द्रले २०८१ चैत १८ गते र २०८२ बैशाख ४ गते एउटै व्यापारिक समूहलाई पोषण झोलाको ठेक्का दिने बदनियतसहित बोलपत्र आह्वान गरेको देखिएको छ । एउटै वस्तु खरीदका लागि १५ दिनको फरकमा अलग अलग बोलपत्र आह्वान गरिएको र त्यसरी बोलपत्र आह्वान गर्दा राखिएका शर्त तथा टेण्डरमा सहभागी हुनसक्ने उद्योगको योग्यताका विषयका बुँदाहरुमा समेत षड्यन्त्र गरिएको स्रोतको भनाई छ ।
यो क्रममा केन्द्रले पूर्वयोजना अनुसार नै निश्चित व्यापारिक घरानाभन्दा बाहिरबाट आएका बोलपत्रहरुलाई बिनाआधार र कारण अयोग्य करार गरिदिएपछि केही समूह अदालत जाने तयारीमा रहेका समेत बुझिएको छ । नेपालमा पौष्टिक आहार उत्पादन गर्ने उद्योगको संख्या धेरै भएको र प्रतिस्पर्धीहरुको संख्या बढी हुने देखिएपछि टेण्डर आह्वान गर्दा पाउडर फम तथा ग्रानुलर फर्म जस्ता शब्दमा खेलेर गडबडी गर्न खोजिएको पाइएको छ ।
कतिपय उद्योगहरुले ग्रानुलर फर्मकै पौष्टिक आहार(पीठो) उत्पादन गर्दै आए पनि त्यसलाई पाउडर फर्मको करार दिएर समेत ठेक्का आवेदन अस्वीकार गरिएको पाइएको छ । ‘केन्द्रले एउटा घरानालाई यो सबै ठेक्का दिन यस्तो खेल खेलेको हो,’ उच्च स्रोतले भन्यो, ‘यसमा केही करोडको चलखेल भएको छ । सेटिङमा कुरा मिलेको समूहलाई ठेक्का दिने उद्देश्यले गलत काम भएको छ । यसको विषयमा अख्तियारदेखि सम्बन्धित निकायले छानबिन गर्नुपर्छ ।’
स्रोतहरुका अनुसार यी दुवै ठेक्का करिब १५ करोड रुपैयाँ हाराहारीका हुन् । १५ करोडको ठेक्का लाग्दा ५–६ करोडको मात्र पौष्टिक आहार वितरणमा खर्च हुने र बाँकी मिलेमतोमा दुरुपयोग हुँदै आएको केन्द्रस्थित स्रोतले बतायो । केन्द्रले पोषण झोला खरीदका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरीद ऐन २०६३ को दफा ४७(१) बमोजिम पालना गर्नुपर्ने कर्तव्यसमेत पालना नगरेको भन्दै केही उद्योगहरु अदालतको ढोका ढकढक्याउने तयारीमा छन् ।


















Discussion about this post