सार्थक ब्युरो। सार्वजनिक यातायातमा बढ्दो दबाव र नीतिगत असन्तोषविरुद्ध ‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले आज काठमाडौंको माइतीघरमा कालो झण्डासहित विरोध र्याली निकालेको छ ।
यातायात व्यवसायीहरूले ७ बुँदे माग अघि सार्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्। सोही अभियानअन्तर्गत माइतीघरमा निकालिएको विरोध र्यालीमा व्यवसायीहरूले सवारीसाधनमा कालो झण्डा राखेका थिए भने निधारमा कालोपट्टी बाँधेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले बागमती प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्नुपर्ने, र राइड सेयरिङ एप सेवा तत्काल बन्द गर्नुपर्ने माग राख्दै ब्यानरसहित विरोध जनाएका हुन्।
यसअघि, आन्दोलनको पहिलो चरणअन्तर्गत व्यवसायीहरूले रिङरोड क्षेत्रमा सार्वजनिक सवारी सडकमै तेर्साएर आक्रोश पोखेका थिए। उनीहरूले देशका ६ वटै प्रदेशबाट कालो झण्डासहित विरोध र्यालीसमेत निकालेका थिए।
व्यवसायीहरूले माग १९ गतेसम्म पुरा नभए देशभर सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, सरकारका पछिल्ला नीतिगत निर्णयहरूले सार्वजनिक यातायात व्यवसायमाथि गम्भीर दबाव सिर्जना गरेको छ, जसले आफूहरूलाई आन्दोलन गर्न बाध्य बनाएको हो।
आन्दोलनको नेतृत्व नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका छन्। उनीहरूले सरकारसँग तत्काल वार्ताको वातावरण बनाउन माग गरेका छन्।


















Discussion about this post