कृषि ज्ञानरत्न कार्यक्रमले युवामा उत्साह भर्‍यो मन्त्री श्रेष्ठ

सार्थक ब्यूरो । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश सरकारले सुरु गरेको ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवाहरूमा उल्लेखनीय उत्साह थपेको बताउनुभएको छ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ‘बीएसएल टु प्लस प्रयोगशाला भवन’को उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो। कार्यक्रममा उहाँले कृषि ज्ञानरत्न कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक तह पार गरेका युवाहरूलाई लक्षित गरी सरकारले कृषि अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो।
मन्त्री श्रेष्ठका अनुसार, स्नातक तह पार गरेका युवाहरूलाई ८ लाख रुपैयाँ, स्नातकोत्तर तहका लागि १० लाख रुपैयाँ, र एमफिल गर्दै पीएचडी अध्ययन तयारीमा रहेका युवाहरूका लागि २२ लाख रुपैयाँसम्मको कृषि अनुदान प्रदान गरिनेछ।
उहाँले प्रदेशभित्र जुनसुकै विषय अध्ययन गरेका युवाहरूले यदि कृषि क्षेत्रमा लाग्ने इच्छा राखेमा यो अनुदान लिन सक्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नुभयो। उहाँले थप्नुभयो, हामीले ०८१/०८२ सालमा सुरु गरेको कृषि ज्ञानरत्न कार्यक्रमलाई आर्थिक वर्ष ०८२/०८३ मा चार गुणा वृद्धि गर्दै थप विस्तार गर्न गइरहेका छौँ।
विदेश पलायन रोक्दै स्वदेशमै उद्यमशिलता र कृषि कर्ममा लाग्न उहाँले युवाहरूलाई आग्रह गर्नुभयो।
सोही अवसरमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले पनि विश्वविद्यालयलाई गुणस्तरीय र परिणाममुखी अध्ययन–अध्यापनमा जोड दिन सुझाव दिनुभयो। “नयाँ भवन मात्र पर्याप्त होइन,” मन्त्री सिलवालले भन्नुभयो, “अब यो भवनमार्फत अध्ययन अनुसन्धानलाई बलियो बनाउँदै चितवनलाई कृषि क्षेत्रमै अग्रणी बनाउनु पर्छ।”
उहाँले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको उदाहरण दिँदै चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। साथै, प्रदेश सरकार पनि अनुसन्धानमुखी कार्यका लागि अनुदान दिन तयार रहेको जानकारी दिनुभयो।
यसैबीच, मन्त्री श्रेष्ठले आजै चितवनको खैरहनी वडा नं ४ स्थित चैनपुरमा रहेको ‘सफा ऊर्जा उत्पादन प्रालि’ द्वारा सञ्चालित फोहोर प्रशोधन उद्योगको स्थलगत अवलोकन गर्नुभएको छ।
उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट तथा उपाध्यक्ष उज्वल चौलागाईंको साथमा उद्योगको निरीक्षण गर्नुभएका मन्त्री श्रेष्ठलाई सफा उर्जाका निर्देशक निर्णय पौडेलले स्वागत गर्नुभएको थियो। संस्थाका प्रतिनिधि योगेन्द्र सिंह केसीले मन्त्री श्रेष्ठलाई फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन तथा वातावरण संरक्षणका विषयमा जानकारी गराउनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित