सार्थक ब्यूरो। नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालीन सरकारले वि.सं. २०३४ फागुन ९ गतेका दिन तत्कालीन भुजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायत सम्पूर्ण भूभाग तथा सुडा र ऐरी गाऊँ पञ्चायतको आंशिक भूभाग मिलाएर महेन्द्र राजाका नाममा महेन्द्रनगर नगर पञ्चायत गठन गरिएको थियो । यो नगर कञ्चनपुर जिल्लाकै पहिलो नगर समेत हो । जनसंख्याका आधारमा यो नेपालको २८ औं ठूलो शहर हो । मुलुकमा प्रजातन्त्र पुर्नस्थापना पछिबाट यस क्षेत्रका किसान योद्धा भीमदत्त पन्तको विचार अगाडी ल्याउनुपर्ने माग उठ्दै आएको थियो । २०५१ सालमा शहिद पन्तको विचार अगाडी ल्याउनका लागी अमर शहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठान गठन गरिएको थियो । प्रतिष्ठानले पन्तलाई शहिद घोषणा गर्न सरकारसँग बारम्बार अनुरोध गरेको थियो । त्यसै बेला राजनैतिक दल विशेष गरी नेकपा (एमाले) को अगुवाईमा २०६५ साल कार्तिक २० गते महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरि नाम परिवर्तन गरिएको थियो । यस क्षेत्रका जनता र प्रतिष्ठानले पन्तलाई शहिद मान्दै आएको भए पनि सरकारले औपचारिक रुपमा २०७२ साल फागुन महिनामा शहिद घोषणा गरेको थियो । यति मात्र नभई उहाँसँगै किसान विद्रोहमा संलग्न २२ जना अन्य नेताहरुलाई पनि सहिदको मान्यता दिइएको थियो । सरकारको यस निर्णयले लामो समयदेखि किसान आन्दोलनको नेतृत्व गरेका भीमदत्त पन्तको योगदानलाई औपचारिक रुपमा सम्मानित गरेको भए पनि स्थानीय स्तरमा शहिद पन्तको सम्मान हुने खालको कुनै कार्य गरेको छैन । भीमदत्त स्मृति प्रतिष्ठानले स्थानीय पार्कलाई भीम बाटिका नामाकरणका लागी अनुरोध गरि शालिक निर्माण गरेपछि अहिलेसम्म पार्क सुधार र शालिक मर्मत सम्भार समेत गरेको छैन । राजावादीहरुले शहिद पन्तको सालिकमा क्षति पुगाउँदा समेत भीमदत्त नगरपालिका र यहाँका राजनैतिक दलहरुलाई वास्ता छैन । महेन्द्रनगर नगरपालिकाको नाम भीमदत्त नगरपालिका र महेन्द्रनगर नगर विकास समितिको नाम भीमदत्त नगर विकास समिति राख्दैमा शहिद प्रति सम्मान मान्न सकिदैन । भीमदत्त नामाकरण किन भन्ने प्रश्न उठिरहेको छ । भीमदत्तको आदर्श, सिद्धान्त र गरिखाने वर्गको सम्मान भन्ने तर्फको पहलकदमी कतैबाट देखिएको छैन । भीमदत्त संग्रहालय निर्माणका लागी बारम्बार अनुरोध गर्दा समेत कुनै सुनवाई भएको छैन । यस्तो अवस्थामा भाषण गर्दा अथवा बाटाका नाम नामाकरण गर्दैमा विचार र आदर्श स्थापित हुन सक्दैन ।
७४ वर्ष अघि भीमदत्त पन्तले अनुभव गरेको समाज आज पनि उस्तै छ । विभिन्न प्रकारका विभेदहरू कायमै छन्, समान्ती उत्पीडन कायमै छ, भ्रष्टाचार र महँगी मौलाएको छ, लाभान्स र निर्णय प्रक्रियामा अहिले पनि हुने खानेहरुकै बोलबाला छ । प्राकृतिक स्रोत र साधनमा आम जनताको पँहुच छैन । यो वा त्यो वहानामा आजसम्म पनि राष्ट्रियतामाथि प्रहार भइरहेको छ । अर्थात् नेपाली जनताले अहिले पनि स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनन् । देशमा संघात्मक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।
नेताहरुले भीमदत्त पन्तको नाम जोडेर थुप्रै भाषण गर्छन, उपसर्ग र प्रत्यय जोडेर थुप्रै भाषणहरु गर्छन । धेरैले उनको विषयमा लेखहरु लेख्छन्, सामाजिक सञ्जालमा भीमदत्त पन्तको गुणगान गाउँछन् तर के भीमदत्त पन्तले देखेका सपनाहरु, लिएको लक्ष पूरा गर्नका लागि अहिलेका राजनैतिक दलहरु वा अहिलेको साझेदारीमा सरकारको नेतृत्व गरिरहेका नेताहरु, जनप्रतिनिधिहरु वा राजनैतिक दल हाँकिरहेका नेता कार्यकर्ताहरुले उनको सपना साकार गर्ने गरी वा उनीजस्ता तमाम योद्धाहरु जसले क्रान्तिको बिगुल फुक्दै युद्ध मैदानमा शाहदत प्राप्त गरेकाहरुको सपना साकार गर्ने गरी कुनै योजना बनाएका छन् ? बनाएका छैनन् भने बनाउन सक्नुपर्छ ।


















Discussion about this post