‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य हासिल गर्न प्रविधिमा जोड : पूर्वराष्ट्रपति भण्डारी

सार्थक ब्यूरो। नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधि क्षेत्रमा भएका विकासलाई आत्मसात गर्न जरुरी रहेको बताउनुभएको छ।  बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा आयोजित नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको विज्ञान प्रदर्शनीको उद्घाटन उनले मोबाइल फोनको एप ‘टच’ गरेर दीप प्रज्वलन गर्नुभयो ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापाबाट यस्तो कार्यक्रम सुरु हुनु राम्रो भएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना हुनेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो , “बालबालिकालाई पाठ्यक्रमको सीमित घेराभित्र मात्र सीमित नराखी वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने र सामाजिक क्षेत्रमा उत्तरदायी भूमिका खेल्न सक्ने बनाउनुपर्छ।“
कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले विज्ञान प्रदर्शनीमा देखिएका आविष्कार तथा खोजलाई व्यवहारमा उतार्ने जमर्को पार्टीले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विज्ञान प्रदर्शनीले कोशी प्रदेशलाई समृद्ध बनाउनका लागि मार्गचित्र कोर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो , “नयाँ सोच र संभावनाहरूले हामीलाई बलियो भविष्यको आधार दिनेमा विश्वस्त छौँ।”
कार्यक्रममा बोल्दै देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठले प्रदर्शनीका लागि देवी माविलाई चयन गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । विभागका प्रमुख गणेश पोखरेलका अनुसार प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। कोशी प्रदेशका अधिकांश जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको यस प्रदर्शनी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा पाँच सय विद्यार्थीले प्रतिस्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा भइरहेको यस प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र चौथो हुनेले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यसका साथै, अन्य २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित