सार्थक ब्यूरो ।महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा।लि।को दोस्रो साधारण सभाको बन्द सत्र सम्पन्न भएको छ। उक्त सत्रले आउँदो असार ७ गते निर्वाचन गर्ने निर्णय गरेको छ।
महेन्द्रनगरस्थित भानु प्यालेसमा सुरु भएको सभा बिहीबार बन्द सत्रमा प्रवेश गरेको थियो। सत्रले हरिश थापा नेतृत्वमा निर्वाचन समिति गठन गर्दै आगामी निर्वाचनको सम्पूर्ण जिम्मेवारी सोही समितिलाई सुम्पिएको छ। समितिमा सञ्जीवचन्द्र भट्ट र मदनराज पाण्डेय सदस्य छन्।
निर्वाचन भने कम्पनीको हैसियतमा नभई महाकाली सेती यातायात बस व्यवसायी समितिको रूपमा हुन लागेको हो। स्मरण रहोस्, सरकारको निर्णय अनुसार समिति कम्पनीमा रूपान्तरण भए पनि सर्वोच्च अदालतले २०८० जेठमा सो निर्णय खारेज गरेको थियो। त्यसपछि पुनः समितिको रूपमा नविकरणको प्रक्रिया अघि बढाइएको हो।
यद्यपि हालसम्म जिल्ला प्रशासन कार्यालयले नविकरण नगरे पनि सर्वोच्च अदालतको आदेशअनुसार असार ७ गते समितिको रूपमा चुनाव गरिने निश्चित भएको हो। समितिमा ५१८ मतदाता व्यवसायी छन्।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले साधारण सभाको उद्घाटन गरेका थिए भने कम्पनीका निवर्तमान उपाध्यक्ष एवं सभाका संयोजक विष्णु कँडेलले अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा अधिकांश सहभागीहरूले सहमतिमै नेतृत्व चयन गर्नुपर्ने धारणा राखे पनि सल्लाहकार तथा पूर्व अध्यक्ष गोपालसिंह भण्डारीले निर्वाचनको विकल्प नभएको विचार राखे।
२०७४ सालमा निर्वाचित अध्यक्ष डम्बरराज पन्तको कार्यकाल यससँगै समाप्त भएको छ।
बन्द सत्रले सचिव देवराज जोशीको वार्षिक प्रतिवेदन, उपकोषाध्यक्ष धिरेन्द्र बहादुर चन्दको उपकार कोष प्रतिवेदन र कोषाध्यक्ष रमेश थापाको आर्थिक प्रतिवेदन पारित गरेको छ।
अब कम्पनीभन्दा पनि समिति स्वरूपमा हुने निर्वाचनले महाकाली सेती क्षेत्रका यातायात व्यवसायीहरूको नेतृत्व कसको हातमा जाने हो भन्ने चासो बढेको छ।


















Discussion about this post